मंसिरदेखि आशिंक रुपमा बन्द रहेको धनगढी विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न झण्डै एक साता लाग्ने देखिएको छ। धावनमार्ग मर्मतसम्भार र विस्तारको कामलाई निरन्तरता दिनका लागि मंसिर १ गतेदेखि आशिंक रुपमा विमानस्थल बन्द गरिएकोमा पूर्ण रुपमा सञ्चालनका लागि अझै एक साता लाग्ने देखिएको हो।
धावनमार्गमा मर्मत सम्भार र विस्तारको काम बाँकी रहेको भन्दै एक महिनाका लागि दिउसो तीन बजेदेखि बिहान ७ बजे सम्म विमानस्थल बन्द गर्ने निर्णय गरिएको थियो। विमानस्थलको धावनमार्गमा ओभरलेको काम अन्तिम चरणमा पुगिसकेकोले पौष १ गतेदेखि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउने धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढथापाले बताए।
‘यसअघि जेठमा एक महिना विमानस्थल बन्द गर्दै धावन मार्गको मर्मत र पार्किङ क्षेत्र विस्तारको काम गरिएको थियो,’ उनले भने, ‘तर त्यती बेला काम सम्पन्न नभएकोले मंसिर १ गतेदेखि विमानस्थल आशिंक रुपमा बन्द छ। पौष १ गतेदेखि विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन्छ।’
उनका अनुसार १८ सय मिटर मध्ये चार सय २० मिटर धावनमार्गमा ओभरलेको काम बाँकी रहेकोमा त्यसलाई मंसिर १ गतेदेखि निरन्तरता दिर्ईएको थियो। अव रातीको समयमा काम गर्ने गरी पौष १ गतेदेखि विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्ने तयारी भएको उनले बताए।
नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ। झण्डै १८ करोडमा धावनमार्गमा थप कालोपत्रे भईरहेको छ भने दुवैतर्फ २÷२ मिटर धावनमार्ग फराकिलो बनाउने योजना कार्यान्वयन भईरहेको छ।
यस्तै अहिले ३ वटा जहाज पार्किङको व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरी पार्किङ क्षेत्र विस्तार भईरहेको छ। निर्माण व्यवसायीले भने विमानस्थल मर्मत र स्तरबृद्धिको काम सम्झौता अवधी भित्रै सम्पन्न गर्ने दावी गर्दै आएका छन्।
सम्झौता अवधी जेठ महिना सम्मको रहेको बताउँदै निर्माण व्यवसायी रत्नवहादुर खड्काले रातीको समयमा काम गरेर पनि निर्माण अवधी सकिन अगाडी नै काम सम्पन्न गर्ने दावी गरे। विमानस्थल आशिंक रुपमा बन्द भएपछि धनगढीबाट काठमाडौँका लागि हुने दैनिक उडान प्रभावित भएका छन्।
अहिले दैनिक तीन वटा उडान मात्रै भईरहेको छ भने हप्ताको तीन दिन नेपाल एयरलाईन्सले उडान भर्दै आएको छ। आशिंक रुपमा विमानस्थल बन्द भएपछि बुद्ध एयरले दैनिक एउटा उडान हटाएको छ।