सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ। विश्वविद्यालयका सह कुलपति समेत रहेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको नेतृत्वमा रहेको सर्च कमिटीले केही दिन अघि प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको हो।
स्रोतका अनुसार विश्वविद्यालयको उपकुलपतीका लागि रमेश भट्टराई, भारती जोशी र पूर्णबहादुर चन्दको नाम सिफारिस गरिएको छ। उपकुलपतीमा सिफारिस भएका भट्टराई त्रिभुवन विश्वविद्यालयको नेपाली विषयका प्राध्यापक हुन्। यस्तै प्राध्यापक भारती चन्द सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यापन गराउँदै आएकी छन् भने सिफारिसमा पर्ने अर्का प्राध्यापक चन्द अहिले विश्वविद्यालयको निमित्त उपकुलपतीको जिम्मेवार निर्वाह गरिरहेका छन्।
तीनै जना नेकपा निकट मानिन्छन्। सिफारिस गरिएका तीनै जनाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले एकजनालाई उपकुलपतीमा नियुक्त गर्नेछन्। प्रधानमन्त्री सबै विश्वविद्यालयका कुलपति हुने कानुनी व्यवस्था छ। तर सिफारिस गरिएका मध्ये पनि पार्टीभित्र ओली र अर्का अध्यक्ष प्रचण्डको भागबन्डा हुने भएकाले उपकुलपति नियुक्तिका लागि केही दिन लाग्ने शिक्षा मन्त्रालय स्रोतले जनाएको छ।

तत्कालीन उपकुलपति डा.भूषण श्रेष्ठ र रजिष्ट्रार डा. द्धिजराज भट्टले पदीय मर्यादा विपरित काम गरेको भन्दै सरकारले उनीहरुलाई हटाएको थियो। पदीय मर्यादा विपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयले दुवैजनालाई जिम्मेवारी मुक्त गरेको हो।
उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्ट विश्वविद्यालयमा नियुक्ति पाएदेखि नै काठमाडौँमा बसेर तलब बुझ्ने गरेको, इमान्दारीपूर्वक काम नगरेको, पद अनुकूलको आचारण नगरेको, तालीम र भ्रमण भत्ताकै नाममा विश्वविद्यालयको बजेट मनपरी लिने गरेको भन्दै विवादमा परेका थिए। त्यसपछि अर्का व्यवस्था नहुन्जेल सम्मका लागि निमित्त उपकुलपतिमा पुर्ण बहादुर चन्दलाई जिम्मेवारी दिईएको थियो।