धनगढी, २८ भदौ/प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ।
आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन्। सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गर्नुभएको धार्मिक विश्वास छ। आजका दिन घर घरमा राखिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गरिन्छ।
यसै अवसरमा छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्।