काठमाडौं/ नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ । नेपाल सरकारले शोकमा २७ गते सार्बजनिक बिदा दिने भएको छ । नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको हो ।
नेम्वाङका छोरा बुधबार अपरान्हमात्रै नेपाल आइपुग्ने भएकाले बिहीबार मात्रै अन्त्येष्टि गरिने तय भएको एमाले कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले बताए ।नेम्वाङको पार्थिव शरीरमा अहिले एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ । मंगलबार प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले च्यासल पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
भोलि पार्टी कार्यालयबाट शव निवासमा लगेर बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । मन्त्रिपरिषद बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने निर्णय गरेको थियो । बालुवाटारस्थित निवासमा मंगलबार बिहान हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै नेम्वाङको निधन भएको थियो ।