टीकापुर — कैलालीको टीकापुर नगरपालिका ८ मा कर्णाली नदीले हिउँदमा पनि कटान तिब्र बनाएको छ । नदी छेउमा लगाइएको तोरी बाली कटान भइरहेको स्थानीय दीपेन्द्र भण्डारीले बताए । उनले भने, ‘हिउँदमा त जग्गा कटान नहोला भन्ने लागेको भएपनि कटान गर्न छोडेन । नदी छेउमा लगाइएको तोरी बाली कर्णालीमा बग्न थालेको छ ।’
अरु ठाउँमा कर्णाली नदी बर्दिया र कैलालीको सीमानाको रुपमा रहेको भएपनि यो ठाउँमा भने कर्णाली नदीले यस गाउँलाई बर्दियासँग जोडिदिएको छ । यो गाउँ जान कैलालीबाट कर्णालीपारि जानुपर्छ । यहाँ ६० परिवारको बसोवास रहेको छ ।कर्णालीको पुर्वी भागतिर रानी जमरा कुलरिया सिँचाइ आयोजनाले जग्गा बचाउन तटबन्ध गरेको छ ।
पश्चिमी भागतर्फ बर्दियाले आफनो जमिन बचाउन कर्णाली पुलबाट दक्षिणतर्फ करिब डेढ किलोमिटर तटबन्ध गरेको छ । बाँकी रहेको नेपाल भारत सीमानासम्म करिब ३ किलोमिटर श्रीलंका गाउँतर्फ तटबन्ध गर्न बाँकी रहेको छ ।तटबन्ध नहुँदा सैयौं बिघा जमिन नदीमा परिणत भइसकेको रछ । योक्रम जारी रहेको टीकापुर नगरपालिका ८ का वडाध्यक्ष दीर्घ बहादुर ठकुल्लाले बताए । उनले भने, ‘स्थानीय सरकारको बजेटबाट यो सम्भव नभएकोले केन्द्रसरकारमा तटबन्धको लागि पहल गरिरहेका छौं ।’
बाढीका कारण गाउँ छोडेर बसाइ सरेकाहरू पनि यो गाउमा खेतीपाती गर्दै आएका छन् । पीडित दीपेन्द्र भण्डारीले भने, ‘बाढीले धेरै मानिस विस्थापित भए । मेरो पनि घर टीकापुरमा छ । जग्गा यहाँ छ ।’ ‘बर्दियातर्फ कर्णाली नदीमा तटबन्ध बनेपछि त्यही तटबन्ध बाटो बनेको छ र आउजाउमा पनि सहज छ ।’ उनले भने, ‘गाउँसम्म तटबन्ध बनेको छैन । तटबन्ध बनेको ठाउमा नदी कटान रोकिएको छ । गाउँसम्मै तटबन्ध बने सुरक्षित हुन्थ्यो ।’ स्थानीय भीम महरका अनुसार यो गाउँबाट बाढीका कारण धेरै परिवार विस्थापित भएका थिए । अहिले गाउँमा सुविधा पनि थपिदैँ गएको छ ।
‘गाउँमा पनि बाटो ग्राभेल गर्न सुरु गरिएको छ । स्वास्थ्य भवन बन्दैछ । पहिला विजुली थिएन । विजुलीको पनि सुविधा छ,’ महरले भने, ‘तटबन्ध गरेर कटान रोक्ने हो भने राम्रो उव्जनी हुने ठाउँ हो यो ।’ विगतको तुलनामा श्रीलंकामा केही विकासका पुर्वाधार बन्न थालेपछि पहाडबाट पनि मानिसहरू बसाइसराइ गरि यहाँ बस्न आएका उनले सुनाए ।
वर्षेनीको बाढीका कारण केही हुनेखानेहरू गाउँ छोडेर अन्त बसाइ सरेका थिए । अन्यत्र बसाइ सर्न नसकेकाहरू मात्रै गाउँमा थिए । यो गाउँमा करिब ३० घर जति मात्र थिए । अहिले थपिएर करिब ५०र६० घर पुगेको जनाइएको छ । टीकापुर नगरपालिका ८ का वडाध्यक्ष दीर्घ ठकुल्लाले भारतको सिमासँग जोडिएको गाउँ भएकोले आवस्यक पुर्वाधार निर्माण गरेर बस्ती विस्तारमा आफनो जोड रहेको बताए । उनले भने, ‘मान्छे नबसे सीमा मिच्ने पनि सम्भावना रहन्छ । हाम्रो भुमिमा भारतीयले मिच्न सक्छन् ।’
पहिले तोली, मल्लाह र वस्ती गाउका रुपमा परिचित यो क्षेत्रलाई ०४० सालको बाढीपछि श्रीलंका भन्न थालिएको हो । ०४० को भिषण बाढीपछि कर्णाली नदीको एउटा भगालोले धार परिवर्तन गरेर तीनतिर घेरेपछि श्रीलंका भन्न थालिएको हो । अर्को्तिर भारतको सिमाना छ ।