बैतडी, २१ भदौ / बैतडीको सिगास गाउँपालिका-६ मा रहेको गणेश माद्यमिक विद्यालयका विद्यार्थी शिक्षकहरूले लामो समयदेखि बाटोको समस्या भोगिरहेको छन् ।
पश्चिम सेतीमा मिसिने न्वाघरी नदी तर्ने पुल नहुँदा ज्यानको बाजी लगाएर विद्यार्थी नदी तर्दै विद्यालय जान बाध्य छन् । बाँचे विद्यालय पुगिन्छ, न्वाघरीमा बगे सेतीमा विलय भइन्छ भनेर शिक्षक विद्यार्थीले खोला तर्ने गरेका छन् ।
सिगास–७, साङडा र थलार गाउँमा कक्षा ३ सम्मको मात्र विद्यालय भएकाले माथिल्लो कक्षा पढ्न यहाँका ४० भन्दा बढी विद्यार्थी न्वाघरी नदी तरेर करिब एक घण्टाको दूरीमा रहेको सिगास–६, को गणेश माविमा धाउँदै आइरहेका छन् ।
विद्यार्थीलाई सोही गाउँकी शिक्षिका लक्ष्मी चन्दले नदी तराएर गणेश मावि लैजाने र ल्याउने काम गर्दै आएकी छिन् । शिक्षिका चन्द गणेश माविमा अध्यापन गराउने भएकाले विद्यार्थीको सहारा बनेकी छिन् । पुलका लागि पटक–पटक माग गरे पनि दुर्गममा बस्नेको कुरा कसैले नसुनेको शिक्षिका चन्दले पीडा सुनाइन्।
नदी तर्ने स्थानबाट माथि हेरे मौरा भीर देखिन्छ, जहाँबाट हालसम्म दुई जनाको लडेर मृत्यु भइसकेको छ । न्वाघरीगाडमा बगेर तीन जनाको मृत्यु भइसकेको छ । भीरमा हिँड्ने बाटो छैन, नदी तर्ने पुल नहुँदा यहाँका विद्यार्थी हरेक दिन नदीमा हेलिदैं विद्यालय आवत–जावत गर्न बाध्य छन् ।
२०३२ सालमा स्वीकृति पाएको गणेश माविमा हाल १५० जना विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ४० जना विद्यार्थी सधैँ नदी तरेर आउने गरेका छन् । संयोगले साङडा गाउँकै शिक्षिका लक्ष्मी चन्द गणेश माविमा अध्यापन गर्ने भएकाले उनको काँधमा अध्यापनसँगै विद्यार्थीलाई नदी तार्ने जिम्मेवारीसमेत रहेको विद्यालयका प्रधानाध्यापक कालुसिंह साउदले बताए ।
पुलका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिसँग माग गरे पनि कुनै सुनुवाइ नभएको उनले बताए । बैतडीको सिगास गाउँपालिका अहिलेसम्म यातायातसँग जोडिन सकेको छैन । बर्सेनि यहाँ न्वाघरीगाड र सेती नदीको बाढीले घरखेत र हिँडने बाटो बगाउने गरेको छ ।
बाढीले बैतडीको सिगास गाउँपालिका–७, भौनेलीपातलदेखि डोटीको आदर्श गाउँपालिका–६, पाङ बबिना जोड्ने पुल बगाएपछि अहिले यहाँका स्थानीय समस्यामा परेका छन् ।
भूगोलका हिसाबले सिगास गाउँपालिका बैतडीका १० वटै स्थानीय तहमध्ये सबैभन्दा ठुलो २४५.४४ वर्ग किमी क्षेत्रमा फैलिएको छ ।
न्वाघरी गाडामा पुल निर्माण गर्न स्थानीय सरकारको अगुवाइमा सङ्घ प्रदेश सरकारले सर्वेक्षण गरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए। स्थानीयको माग माथिल्लो सरकारले सुनिदिनु पर्ने उनले बताए ।
