दार्चुला, १७ भदौ/दार्चुलामा डेङ्गु सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ । दार्चुलाको महाकाली नगरपालिका–९ दत्तुस्थित राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्यनरत १४ वर्षीया किशोरी जेलिना चैसिरको डेङ्गु रोगको उपचारका क्रममा भारतको हलद्वानीमा मृत्यु भएको हो ।
जेलिनालाई केही दिन पहिले ज्वरो आएपछि उपचारका लागि जिल्ला अस्पताल दार्चुला लगिएको थियो । दार्चुला अस्पतालमा परीक्षण गर्दा डेङ्गु सङ्क्रमण देखिएपछि उपचार गरिएको थियो । घरफर्केपछि फेरि ज्वरोले च्यापेपछि उनलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको थियो ।
पिथौरागढमा समेत उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतकै हलद्वानी रेफर गरिएको र शनिवार उपचारका क्रममा हलद्वानीमा जेलिनाको मृत्यु भएको राष्ट्रिय मावि दत्तूका प्रधानाध्यापक राजेशसिंह सामन्तले जानकारी दिए ।छात्रा जेलिनाको मृत्यु भएपछि राष्ट्रिय मावि दत्तूले आइतबार एक दिन शोक बिदासमेत गरेको उनले बताए।दार्चुलामा सन् २०२३ सुरूभएयता अर्थात् पछिल्लो १० महिनाको अवधिमा १९० जना डेङ्गु सङ्क्रमित भएका छन् । चालू आर्थिक वर्ष सुरू भएयता साउनदेखि २१ जना संक्रमित फेला परेको जिल्ला स्वास्थ कार्यालय दार्चुलाका वीरेन्द्र भट्टले जानकारी दिए ।
दार्चुला डेङ्गु सङ्क्रमणको उच्च जोखिममा छ । हिमाली जिल्ला दार्चुलाको व्याँसमा पछिल्लो समय डेङ्गु सार्ने लामखुट्टे फेला परेको र उक्त लामखुट्टेबारे महेन्द्रनगरमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । केही वर्ष पहिलेसम्म तराईका जिल्लामा देखिने डेङ्गु सङ्क्रमण पछिल्लो समय उच्च पहाडी र हिमाली जिल्लाहरूमा समेत देखापर्न थालेको छ ।