१८ संस्था एकाकार
काठमाडौं । जनतालाई मर्ज गरेसँगै ग्लोबल आइएमई बैंक देशकै सबैभन्दा ठूलो बैंक बनेको छ । बैंक पूजी, निक्षेप संकलन, कर्जा प्रवाह, ग्राहक, शाखासञ्जाल लगायतले देशमा विद्यमान अन्य वाणिज्य बैंकको तुलनामा बलियो बैंकको रुपमा स्थापित भएको हो ।
दुबै ‘क’ वर्गका वाणिज्य बैंक मर्ज भएसँगै शुक्रबारदेखि ग्लोबल आइएमई बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।रच्दै नयाँ इतिहास, छुँदै नयाँ उचाईु नाराका साथ आयोजित विशेष कार्यक्रमकाबीच अर्थमन्त्री डा। युवराज खतिवडाले एकीकृत कारोबारको शुभारम्भ गरे । ग्लोबल १३ वर्ष अघि र जनता बैंक १० वर्ष अघि स्थापना भएका थिए ।
मर्जसँगै ग्लोबल आइएमई बैंकको प्राथमिक पूँजी २४ अर्ब पुगेको छ । त्यसैगरी, चुक्तापूँजी १९ अर्ब रुपैयाँ, कुल निक्षेप २ खर्ब १३ अर्ब र कुल कर्जा लगानी १ खर्ब ९४ अर्ब पुगेको बैंकका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए । त्यस्तै शाखा सञ्जाल तथा सेवाकेन्द्रका आधारमा पनि ग्लोबल आइएमईले अन्य बैंकभन्दा अब्बल बैंकका रुपमा आफूलाई उभ्याएको छ ।
बैंकको ७७ वटै जिल्लामा गरी ८ सय ४० सेवा केन्द्र, २५९ एटिएम काउन्टरबाट ३ हजार २ सय कर्मचारीले वित्तीय सेवा प्रदान गरिरहेका छन् । ग्लोबल आइएमई बैंकले नियामक निकाय नेपाल राष्ट्र बैंकको अनुमति प्राप्त गरी २०६३ पुस १८ गतेबाट औपचारिक कारोबार थालेको थियो भने जनता बैंकले २०६६ चैत २३ गतेबाट औपचारिक कारोबार शुरु गरेको थियो । आफ्नो १३ वर्षको दौरानमा तीन वाणिज्य बैंकसहित १८ बैंक तथा वित्तीय संस्था एकाकार भएर सबैभन्दा शक्तिशाली ग्लोबल आइएमई बैंक बन्न सफल भएको हो ।