महेन्द्रनगर १८ साउन/कञ्चनपुरको भीमदत्त नगरपालिकामा सडक ग्राभेलको काम प्रभावित भएको छ । १२ साउनमा महेन्द्र राजमार्गको सुकासालमा नेकपा एमालेका कार्यकर्ताहरुले ग्राभेल बोकेर आउदै गरेको भीमदत्त नगरपालिकाको टिप्परमाथि अवरोध गरेपछि नगरका १९ ओटै वडामा सडक ग्राभेलको काम प्रभावित भएको छ । ग्राभेल बोकेको टिप्परलाई एमाले कार्यक्रताहरुले अवरोध गरेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सडक ग्राभेलिङ्गको कार्य केहिदिन रोक्न भन्दै नगरपालिकालाई पत्राचार गरेको हो ।
यद्यपी वर्षातको समयमा भीमदत्तका अधिकांश सडक बाटोहरु हिलाम्मे एवं ढुवानमा परेका छन् । नगरपालिकालाई प्रतिदिन १० औं ठाउँबाट सडकमा ग्राभेल हालिदिनका लागि गुनासो आउने गरेको भीमदत्त नगरपालिकाका प्रेस संयोजक चक्र महताले बताए । ‘सडक ग्राभेलकालागि माग निकै बढेको छ । जिल्ला प्रशासनले काम केहिदिनका लागि उक्त कार्य रोक्नु भनेर पत्राचार गरेको हुँदा समस्या खेखिएको छ ।’ प्रेस संयोजक महताले भने, ‘ठेक्कापट्टका लागि असार देखि नै खोलानाला बन्द भएपनि नगरपालिकाले आफ्नै स्रोत साधनको प्रयोगमा आवश्यक ठाउँमा ग्राभेल हाल्दै आएको थियो, तर त्यो सुकासालमा लफडा भएपछि अहिले पाँच दिनदेखि पुरै काम प्रभावित भएको छ ।’ वर्षातको समयमा सडक ग्राभेलको माग निकै बढेको नगरपालिकाले जनाएको छ ।
भीमदत्त नगरपालिकाले १९ ओटै वडाहरुमा पालैपालो सडकमा ग्राभेल हाल्दै आएको थियो । गत आर्थिक वर्ष ०७९÷०८० मा नगरपालिकाका १९ ओटै वडाहरुमा ५ हजार ७ सय ७२ टिप्पर ग्राभेल हालिएको भीमदत्त नगरपालिकाले जनाएको छ ।
बर्षाले सडकमा पानी भरिनुका साथै खाल्टाखुल्टी पुर्नका लागि आवश्यक ग्राभेल ल्याउँनका लागि सहजिकरण गरिदिन जिल्ला प्रशासनसंग नगरपालिकाले अनुरोध गरेको प्रेस संयोजक महताले बताए । गाउँबस्तीबाट चौतर्फी रुपमा सडक ग्राभेलकालागि जनताका गुनासा आउने गरेको तर एमाले कार्यकर्ताको विरोध पछि प्रशासनले अंकुश लगाएको नगरपालिकाले जनाएको छ ।