एजेन्सी । संवैधानिक कानूनका तीनजना विज्ञले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गतिविधि महाअभियोग लगाउने पर्ने खालको रहेकोमा कुनै शंका नरहेको बताएका छन् ।
ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदनमा भइरहेको सुनुवाईको क्रममा उपस्थित भएका तीनजना अमेरिकी संवैधानिक कानूनका ज्ञाताहरुले राष्ट्रपति ट्रम्पको कार्य महाअभियोग लगाएर पद मुक्त गर्नु पर्ने खालको रहेको बताएका हुन्। ट्रम्पमाथि महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धान बुधबारदेखि नयाँ चरणमा प्रवेश गरेको हो ।
यसअघिको चरणमा सरकारी तथा कूटनीतिक अधिकारीसँग बयान भएको थियो । हार्वर्ड विश्वविद्यालयका कानूनका प्राध्यापक नोहा फेल्डम्यान, स्टानफोर्ड विश्वविद्यालयका कानूनकी प्राध्यापक पामेला कार्लन तथा युनिभर्सिटी अफ नर्थ क्यारोलिनाका प्राध्यापक माइकल गेर्हार्टलाई डेमोक्र्याटले बोलाएका हुन् । यस्तै जर्ज वासिङ्गटन विश्वविद्यालयका प्राध्यापक जोनथन टर्लीलाई रिपब्लिकनले बोलाएका हुन । विदेशी शक्तिसँग आफ्नो व्यक्तिगत स्वार्थका लागि सहयोग माग्नु अपराध रहेका र उनले न्याय व्यवस्थामा अवरोध सिर्जना गरेको आरोप ती विज्ञले ट्रम्पमाथि लगाएका हुन् ।
संसदीय सुनुवाईका लागि डेमोक्र्याटिक पार्टीले तीन तथा रिपब्लिकनले एकजना विज्ञलाई बोलाएका थिए । डेमोक्र्याटिक पार्टीले बोलाएका तीनैजना विज्ञले ट्रम्पको कार्य अवैध रहेको र महाअभियोग लगाउनु पर्नेमा कुनै शंका नै नरहेको बताए । रिपब्लिकन पार्टीका तर्फबाट बोलाइएका विज्ञले राष्ट्रपति ट्रम्पको कार्य गलत रहेको तर महाअभियोग लगाउनु पर्ने खालको भने नरहेको बताए । यसअघि मंगलबार पदमा रहेर गैरकानूनी काम गरेको आरोपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउनका लागि पर्याप्त प्रमाण रहेको महाअभियोग लगाउने सम्बन्धी अनुसन्धानको नेतृत्व गरिरहेको प्यानलले बताएको थियो ।
महाअभियोग लगाउने सम्बन्धी अनुसन्धान गरिरहेको अमेरिकी तल्लो सदनका समितिले तयार पारेको ३०० पृष्ठ लामो प्रतिवेदन मंगलबार सार्वजनिक गरिएको थियो । सो प्रतिवेदनमा राष्ट्रपति ट्रम्पले अमेरिकाको राष्ट्रिय स्वार्थ भन्दा माथि आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थलाई स्थान दिएको उल्लेख छ । राष्ट्रपति ट्रम्पले आउँदो वर्ष अर्थात सन् २०२० मा हुने राष्ट्रपति चुनावमा आफू पुनः निर्वाचित हुने पक्षमा सहयोग गर्नका लागि युक्रेनलाई महिनौँदेखि आग्रह गरेको सो प्रतिवेदनमा उल्लेख छ ।
ट्रम्पले आफ्नो व्यक्तिगत स्वार्थका लागि विदेशी शक्तिलाई अमेरिकाको आन्तरिक राजनीतिमा अवैध तवरले प्रभावित पार्न आग्रह गरेको प्रतिवेदनमा उल्लेख गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ट्रम्पले भने आफूले कुनै पनि किसिमले गैरकानूनी गतिविधि नगरेको बताउँदै आएका छन्। ट्रम्पमाथि शक्तिको दुरुपयोग, न्याय प्रक्रियामा अवरोध र सदनलाई बेवास्ता वा निन्दा गरेको सहितका आरोपमा महाअभियोगको लगाउने तयारी छ ।