काठमाडौं, २४ असार/पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको छ। अवरुद्ध भएको नौ घण्टापछि आइतबार बिहानदेखि सडकखण्ड दुइतर्फी सञ्चालनमा आएको हो।
चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा शनिबार दिउँसो ४ बजे सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो। तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो। अहिले रोकिएका सवारीसाधन र यात्रुहरु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।
उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरेका छन्।सडकमा पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यो सडकखण्डमा दैनिक हजारौ सवारीसाधन आउजाउ गर्ने गर्दछन्।