बैतडी, २३ असार/नक्कली स्वास्थ्यकर्मी बनेर बिरामीलाई सुई लगाउँदा लगाउँदै पक्राउ परेकी पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजककी श्रीमतीमाथि प्रहरीले इलाजसम्बन्धी कसुरको मुद्दा चलाएको छ ।
पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक रामसागर साहले जनकपुरबाट श्रीमती श्यामा साहलाई पञ्चेश्वर बोलाए । श्यामा साह गैरस्वास्थ्यकर्मी भए पनि पञ्चेश्वर गाउँपालिका–४, मा मेडिकल चलाएर बिरामीलाई सुई लगाएर औषधी दिँदै आएको अवस्थामा उनले प्रहरी पक्राउ गरेको हो ।पक्राउ परेकी श्यामा साहमाथि इलाजसम्बन्धी कसुरमा मुद्दा चलाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।
जनकपुर घर भए पनि १७ वर्षदेखि पञ्चेश्वर बस्दा श्यामा साहले स्थानीय बिरामीसँग बैतडेली र डोटेली भाषा बोलेर बिरामीलाई विश्वासमा पार्दै आएको खुलेको छ । रगत तान्दै ल्याब सञ्चालन गरेको अवस्थामा प्रहरीले पक्राउ गरेपछि उनले नक्कली स्वास्थ्यकर्मी भएको रहस्य खुलेको छ ।स्वास्थ्य संयोजक शाहले श्रीमतीलाई नक्कली स्वास्थ्यकर्मी बनाएर मेडिकल चलाएको जनगुनासोपछि जिल्ला प्रशासन कार्यालय बैतडीले यसअघि जेठ २ गते सो मेडिकल सिल गरेको थियो । प्रशासनले सिल गरेको मेडिकल पुनः सञ्चालन गरेर बिरामीलाई सुई लगाउँदा लगाउँदै प्रहरीले गत शुक्रबार स्वास्थ्य संयोजककी श्रीमती श्यामा साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए ।
जिल्ला प्रशासन कार्यालयले अवैध ठहर गर्दै सिल गरिएको श्यामा क्लिनिक पुनः बिनाजानकारी सञ्चालन गरेको पाइएपछि श्यामा साहलाई पक्राउ गरी हिरासतमा राखिएको उनले बताए । जिल्ला न्यायाधिवक्ताको राय सल्लाह अनुसार इलाजसम्बन्धी कसुरमा मुद्दा अघि बढाएको प्रहरीले जानकारी दिए ।