उच्च माविका शिक्षक सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाउदै
धनगढी, १४ असार/माध्यमिक विद्यालय शिक्षक नेपाल (हिस्टुन)का शिक्षकहरुले कक्षा १२ को उत्तरपुस्ति परक्षण बन्द गरेको छ । माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले सरकारले आफ्नो मागलाई सम्बोधन नगरेको भन्दै आन्दोलनको घोषणा गरेको छ । हिस्टुनको माग पटक पटक ध्यानकर्षण गराउँदा पनि वेवास्ता गरेको भन्दै १८ बुँदे मागसहित आन्दोलनमा उत्रेको छ ।
हिस्टुन केन्द्रीय सह–अध्यक्ष विष्णु दौल्यालको नेतृत्वमा सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण भट्ट, कैलाली अध्यक्ष हृदय पुजारा सहितको टोलीले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक बिकास मन्त्री झपट साँउद र परिक्षा बोर्डका सुदूरपश्चिम कार्यालय प्रमुख उत्तमदेब बिष्टलाई आफ्ना माग सहितका ज्ञापन पत्र समेत बुझाएका छन् ।
हिस्टुनले विश्वविद्यालय तहबाट प्रमाणपत्र तह विस्थापित भइसकेको लामो समय बितिसक्दा पनि साबिक उच्च मावि तहमा अध्यापनरत शिक्षकहरूको व्यवस्थापनका विषयमा यस वर्षको बजेट पनि मौन रहेको र राज्य उदासीन बनेपछि उनीहरु असन्तुष्ट रहेका छन् । साढे ६ लाख विद्यार्थी अध्ययन गर्ने कक्षा ११ र १२ मा सरकारले तीस वर्षदेखि स्थायी दरबन्दीको एकजना पनि शिक्षक व्यवस्था नगरेको भन्दै हिस्टुनले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।
‘यस बजेटमा विद्यालयमा अंग्रेजी, विज्ञान र गणित शिक्षक थप्न ३ अर्ब ६९ करोड विनियोजन भएको छ, तर विद्यालयको साबिक उच्च मावि तह कक्षा ११ र १२ मा नियमित ६ विषय अध्ययन अध्यापन भइरहेको अवस्थामा उक्त तहमा शिक्षक व्यवस्थापन हुने कुरामा सरकारले बजेटले केही नबोलेको हिस्टुन केन्द्रीय सह–अध्यक्ष विष्णु दौल्यालले बताए ।
समस्या सम्बोधनका लागि प्रधानमन्त्री, मन्त्री, सांसद, स्थानीय तह र प्रदेश सरकारलाई देशैभर पटक–पटक ज्ञापन बुझाएर ध्यानाकर्षण गराउँदै आएको, पेन डाउन, कालोपटी, प्रदर्शनजस्ता दबाबमूलक कार्यक्रम गर्दा पनि अहिलेसम्म सुनुवाइ नगरेपछि थप आन्दोलनको तयारीमा रहेको हिस्टुन केन्द्रीय सह–अध्यक्ष दौल्यालले बताए । उच्च माध्यमिकका शिक्षकहरुले असार १२ गतेदेखि १९ गतेसम्म हाल देशभर भइरहेको कक्षा १२ को उत्तरपुस्तिका परीक्षण कार्य नगर्ने भन्दै आन्दोलनमा उत्रेका छन् ।
उच्च माविका शिक्षक सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री झपट साँउदलाई ज्ञापन पत्र बुझाउदै


उच्च माविका शिक्षक सुदूरपश्चिम प्रदेशको परिक्षा बोर्डका प्रमुख उत्तमदेब बिष्टलाई ज्ञापन पत्र बुझाउदै