धनगढी, ७ जेठ/कैलाली जिल्लाको तत्कालीन निगाली गाविसबाट छविलाल साउद २०५१ सालमा हालको चुरे गाउँपालिका–४ को बाजुरगडा बसाइँ सरे । सहजताको खोजीमा सपरिवार बाजुरगडा सरेका साउदले यस गाँउमा झन जटिलता झेल्नु परेको दुखेसो पोखे ।तराईको जिल्ला भए पनि बाजुरगडा गाउँ विगत ३० वर्षदेखि जस्ताको त्यस्तै रहेको गुनासो उनले पोखे । २०३० सालअघिबाट यो ठाउँमा बस्ती बसेको हो, २०५१ सालतिर म बसाइँ सरेर आएको हुँ। त्यो बेलादेखि यो गाउँ जस्ताको त्यस्तै छ। उनले थपे, “केही परिवर्तन भएको छैन। देशमा ठुला आन्दोलन भए, परिवर्तन भए तर हाम्रो गाउँमा परिवर्तन केही पनि आएन।”
यहाँ सामान्य पूर्वाधार खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्यलगायतका सेवा सहज रूपमा उपलब्ध हुन नसकेको र आफूहरू राज्यबाट नै उपेक्षा भएको भनाइ उनको छ। अर्का स्थानीय अगुवा हेम विष्ट पनि बाजुरगडामा खानेपानी र सिँचाइलगायतका आधारभूत आवश्यकता केही नपाएको बताए ।“यहाँ ६५ घरपरिवार छौँ, वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आएका छौँ। खानेपानीको सानो मुहान मल्लोभावर भन्ने ठाउँमा छ तर सुक्खायाममा मुहान सुक्ने भएकाले खानेपानीको काकाकुल हुन्छ,” उनले भने ।स्थानीयवासीका अनुसार बाजुरगडामा खानेपानीका लागि वैकल्पिक प्रबन्ध गरिएको छ। त्यसका लागि स्थानीयले मुहान ९मल्लोभावर० मा ठुलो किसिमको ड्रम राखेका छन्। त्यो ड्रमजस्तै सबैका घरघरमा पनि ड्रम राखिएका छन्। मुहान र घरका ड्रमलाई पाइपमार्फत जोडिएको छ।
मुहानको पानी ड्रममा जम्मा गरेर एक दिन ड्रम खोल्ने र त्यो दिन एक घरपरिवारले करिब पाँच दिनका लागि पानी भण्डारण गर्ने गरेको बताइन्छ। एक परिवारले कम्तीमा पाँच दिनको फरकमा मात्रै खानेपानी उपभोग गर्न पाइरहेको स्थानीयवासीको भनाइ छ।चुरे क्षेत्रमा पर्ने बाजुरगडा र गोदावरी नगरपालिका–४ वारिपारि पर्छन्। यसको बीचमा हाटखोली नदी छ। बाजुरगडाबाट पारिपट्टि पर्ने गोदावरी नगरपालिका–४ का क्षेत्रमा प्रशस्तै पानी छ। सिँचाइको पनि व्यवस्था छ। शिक्षा, स्वास्थ्य पनि राम्रै किसिमले विस्तार भइरहेको देखिन्छ।
तर, बाजुरगडाका स्थानीय भने पारि दृश्य हेर्दै एउटै देश तथा प्रदेशभित्रको विभेद र बाध्यतालाई देखेर चित्त बुझाउने गर्छन्। “पारिको विकास हेरेर वारिको तिर्सना मेटिन्न तर के गर्ने रु बाध्य छौँ,” स्थानीय वसन्ती साउदले भने।सो बस्तीमा पानीसँगै विद्युत्, पुलपुलेसा, पक्की बाटो, विद्यालय र स्वास्थ्य संस्थाको समेत अभाव छ। सो बस्तीका बालबालिका पढ्नलाई गोदावरी नगरपालिका–४ को पारिपट्टिको बस्ती जाने गर्दछन्। त्यहाँ भने १२ कक्षासम्म पढाइ हुने स्कुल छ।
चुरे गाउँपालिका–४ को बाजुरगडामा भौतिक पूर्वाघार अभाव मात्रै होइन, भौगोलिक बनावट पनि उस्तै कठिन रहेको छ। बाजुरगडाबाट एउटा सिफारिस ल्याउन आफ्नै वडा कार्यालयसम्म पुग्न कम्तीमा छ हजार खर्च लाग्ने गरेको वडा सदस्य प्रेमप्रसाद आचार्यले बताए । “गर्भा भन्ने क्षेत्रमा हाम्रो वडा कार्यालय छ। त्यहाँ पुग्नै हिँडेर एक दिन लाग्छ,” उनले भने, “आफ्नै वडामा जान यस्तो सास्ती छ। पालिका जाँदा उस्तै समस्या हुन्छ, गाडीमा गए गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिका हुँदै जानुपर्ने बाध्यता छ।”