धनगढी, ३ जेठ/बुधबार दिउँसो कर्णाली नदीको मध्यभागमा केही मानिस बचाउबचाउ भनेर रोइ कराइरहेका थिए । त्यही बेला सशस्त्र प्रहरी बलका डुङ्गामा (मोटर वोट) रहेका विभिन्न खालका टोली उद्धारका लागि दौडिए । त्यही रेडक्रसको टोली पनि प्रारम्भिक उपचारका लागि पुग्यो ।
सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको घाइतेलाई सशस्त्रकै एम्बुलेन्सले अस्पताल लगिरहेको थियो । सशस्त्रकै गोताखोर टोलीले मृतक बच्चालाई नदीको गहिराइबाट निकालेको थियो । यो वास्तविक दृश्य थिएन तर सबै अवस्था हेर्दा वास्तविक जस्तै लागेको थियो । सशस्त्र प्रहरीले त्यो काल्पनिक घटनामा धनगढीबाट काठमाडौ जाँदै गरेको बस कर्णाली नदीमा खसे जस्तो गरेर उद्धार गरेको देखाएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल ७ नम्बर बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीको आयोजना जल उत्पन्न प्रकोप प्रतिकार्यसम्बन्धी अभ्यासका क्रममा कर्णाली नदीमा सो दृश्य देखिएको हो । बाहिनीका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले वर्षातको समयमा घटने घटनालाई मध्यनजर गर्दै पूर्व तयारी स्वरुप प्रतिकार्यसम्बन्धी अभ्यास गरिएको बताए ।
सो अवसरमा बोल्दै सुदूरपश्चिम प्रदेश सरकार प्रमुख सचिव नारायण शर्मा दवाडीले सशस्त्रको यो टीम बास्तविक घटनामा पनि यही तरिकाले खट्ने विश्वास गरे । उनले कतिपय विपत रोक्न नसकिए पनि मानव सिर्जित विपत रोक्न सक्ने भएकाले विपत आउन नदिने गरेर काम गर्नु स्थानीय, प्रदेश र सङ्घीय सरकारको दायित्व भएको बताए । उनले विकासले विपत निम्त्याउन नदिनका लागि पनि सचेत हुनु पर्ने धारणा राखे ।
लम्कीचुहा नगरपालिका, टीकापु नगरपालिका, जानकी गाउँपालिका र बर्दगोरिया गाउँपालिकाका प्रमुखको समेत उपस्थिति रहेको सो कार्यक्रममा लम्कीचुँहा नगरपालिकाका प्रमुख सुशिला शाहीले पूर्व तयारी अभ्यासले वास्तविक घटनाका बेला उद्धार गर्न सहज हुने बताउनुहुँदै पालिकाहरुले समेत विपत न्यूनिकरणमा जिम्मेवार भएर लागेको दाबी गरिन् । सो अवसरमा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कैलाली विपतको बढी जोखिम भएको जिल्ला भएको चर्चा गर्नुहुँदै स्थानीय तह र सशस्त्र प्रहरी लगायतका सुरक्षा निकाय मिलेर अझ प्रभावकारी काम गर्नुपर्ने बताए ।