दार्चुला, १ जेठ/दार्चुलामा आइतबार दिउँसो ३ बजेतिर आएको हावाहुरीले विद्यालय र घरको छाना उडाएर क्षति गरेको छ । जिल्लाको नौगाड गाउँपालिका –५ मा अवस्थित मालिकार्जुन आबि भिडको दुई कोठे शौचालयको छानो उडाएको विद्यालयका प्रद्यानाध्यापक केशबसिंह धामीले जानकारी दिए । सोही वडाको रुडखेत टोलका मानसिंह धामीको घर र बीरबहादुर धामीको घर ९खर्क० पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यस्तै, नरसिंह धामीको आधा घरमा क्षति पुगेको स्थानीय श्यामसिंह धामीले बताए ।
दार्चुलाको व्याँस गाउँपालिका –३ हुम्दुम्तीमा चट्याङ लागेर तीन जना घाइते भएका छन् । दुहुँबाट यार्सागुम्बा संकलनका लागि व्याँस गएका तीन जना चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।
शनिबार राति ८ बजे परेको चट्याङ लागेर दुहुँ गाउँपालिका –१ बचपाली बस्ने ३७ वर्षीय आनसिंह महरा, उनकी श्रीमती ३० वर्षीया मनमती महरा र दुहुँ गाउँपालिकाकै हिकिला बस्ने महेश बडाल चट्याङ लागेर घाइते भएको उनले बताए । चट्याङ लागेर तीन जना घाइते भएको सूचना पाएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको र अहिलेसम्म स्थलगत रिपोर्ट प्राप्त भइनसकेको सूचना अधिकारी सिंहले बताए । घाइते तीनै जना यार्सागुम्बा संकलनका लागि गएको बताइएको छ । घटनाबारे थप विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।