धनगढी ३० बैशाख/सत्ता गठबन्धन दलबिच मन्त्रालय बाँडफाँडमा कुराकानी नमिल्दा सुदूरपश्चिम प्रदेश मन्त्रीमण्डल विस्तार प्रक्रिया लम्बिन लागेको छ ।बुधबार काठमाडौबाट धनगढी पुगेका प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रीमण्डल विस्तारका लागि सत्ता गठबन्धन दलहरुसंग संवाद जारी राखेपनि सहमति भने जुटन सकेको छैन् । मुख्यमन्त्री शाहले शुक्रबार विहान पनि नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासंग संवाद गरेका थिए । तर, सहमति भने हुन सकेन् ।
सात वटा मन्त्रालय रहेको प्रदेशमा माओवादी केन्द्रले आफुहरुले तीन मन्त्रालय पाउनुपर्ने अडान कायम राखेका थिए भने सत्ता गठबन्धन दलमै रहेको नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालय पाए सरकारमा जान सकिने मुख्यमन्त्रीसंग प्रतिक्रिया दिए ।मुख्यमन्त्री शाहको नेतृत्वमा तीन महिना अघि दुई सदस्यीय मन्त्री विस्तार भइ मन्त्रालयको जिम्मेवारी दिइएको छ । प्रदेशको भौतिक पूर्वाधार मन्त्री नेपाली काँग्रेसका प्रकाशबहादुर देउवा र आर्थिक मामिला मन्त्री नेकपा एकीकृत समाजवादी पार्टीका नरेशबहादुर शाहीले सम्हालेका छन् ।
प्रदेशका चार वटा मन्त्रालय अहिलेसम्म मुख्यमन्त्री कमलबहादुर शाह मातहात रहेको छ । शुक्रबारको बैठक निष्कर्षविहिन भएपछि मुख्यमन्त्री शाहले शनिवार बिहान पुनः सत्ता गठबन्धन दलहरुसंग छलफल गर्ने प्रतिक्रिया दिएको नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता खगराज भट्टले बताए । उनले भने –‘हामीले तीन मन्त्रालय माग गरेका छौं । तर, मुख्यमन्त्रीले दिने सहमति गर्नुभएन । त्यसकारण अहिलेसम्म मन्त्रालय बाँडफाँडमै कुरा मिल्न सकेको छैन् । मन्त्रालयको टुङ्गो लागेको एक घण्टाभित्रै पार्टीले आफना मन्त्रीहरु पठाउँछ ।’नागरिक उन्मुक्ति पार्टीले भुमि व्यवस्था, कृषि तथा सहकारी र सामाजिक विकास मन्त्रालय आफुहरुले पाउनुपर्ने अडान कायम गरेका छन् । उन्मुक्तिबाट रामेश्वर चौधरी र लक्ष्मण किशोर चौधरी मन्त्रीका लागि पार्टीले नाम टुङ्गो लगाइसकेको छ ।
तर, मुख्यमन्त्री शाहले मन्त्रीविहिन रहेको चार मन्त्रालयमध्ये नेकपा माओवादी केन्द्रलाई दुई, नागरिक उन्मुक्तिलाई एक र नेपाली काँग्रेसलाई एक मन्त्रालय बाँडफाँड गर्ने गरि प्रस्ताव पेश गरेका छन् । नेपाली काँग्रेसबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ प्रदेश १ बाट निर्वाचित बहादुर सिंह थापा मन्त्री बन्ने चर्चा रहेको छ ।
प्रदेशका मुख्यमन्त्री शाहले मन्त्रीमण्डल विस्तारको काम एक–दुई दिनमै टुङ्गिने बताए । उनले भने –‘अहिले छलफल जारी छ । मन्त्रालय बाँडफाँडमा सहमति जुट्दै छ । केही समय लाग्न सक्छ । तर, छिट्टै मन्त्रीमण्डल विस्तार गर्ने छौं ।’ उनले मन्त्रालय फुटाउने, भएका मन्त्रालयमै राज्यमन्त्रीमा सहमति जुटाउने यावत विविध विषयमा सत्ता गठबन्धन दलबिच छलफल भइरहेको बताए ।