महेन्द्रनगर/संघीय सरकारले नेपाली सेनामार्फत ०७८ सालमा पूर्वको काँकडभिट्टादेखि पश्चिम गड्डाचौकीसम्मका सातवटा नाकामा सेन्टर निर्माण गरेको होल्डीकङ सेन्टर अलपत्र छन । पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीमा २९ करोडमा निर्माण गरिएको होल्डिङ सेन्टर पनि अलपत्र छ । भीमदत्त नगरपालिका–१८ सालघारीमा रहेको सेन्टरको चारैतिर काँडेतारले घेरबार गरिएको छ । होल्डिङ सेन्टरमा २२ ठूला संरचना छन् भने भान्सा, शौचालय गरी ५९ संरचना निर्माण गरिएका छन् ।
पछिल्लो समय भारतबाट फर्किनेमा दिनहुँ कोरोना संक्रमण देखिन थालेको छ । संक्रमण बढेका बेला सेन्टर सञ्चालनको चर्चा भए पनि फेरि सेलाएर जाँदा यत्रो संरचना खाली छ । अहिले जिल्लामा दैनिक १०र१२ जनामा संक्रमण देखिन थालेको छ, सक्रिय संक्रमितको संख्या २६ पुगेको छ । सेन्टर सञ्चालनबारे पछिल्लो समय रक्षा मन्त्रालयले अध्ययन थालेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए । उनका अनुसार मन्त्रालयका सहसचिवको नेतृत्वमा अध्ययन टोली बनेर अध्ययन भइरहेको छ । ‘दुई साताअघि उक्त टोलीले अनुगमन गरेको थियो, हामीले चार विकल्पमा जान सकिने सुझाव दिएका छौं,’ प्रजिअ अर्यालले भने ।
उनका अनुसार एक हजार क्षमताको संरचनाको ३० प्रतिशत सेन्टरकै रूपमा र बाँकी लागूऔषध दुर्व्यसनीमा फसेकाका लागि पुनःस्थापन केन्द्र, क्षयरोग उपचार केन्द्र, विशेष सुरक्षा प्रहरीलाई पनि राख्न सकिने सुझाव दिइएको छ । कार्यविधि र सञ्चालन खर्चको अन्योलले सेन्टर सञ्चालनमा आउन नसकेको उनले बताए ।