धनगढी, २२ बैशाख/बझाङमा हिमपहिरोको जोखिम बढेपछि यार्सागुम्बा संकलकहरू धमाधम घर फर्किन थालेका छन्। निरन्तर वर्षाले हिमपहिरोको जोखिम बढेपछि बझाङका पाटनमा यार्सा टिप्न गएकाहरू धमाधम घर फर्किन थालेका हुन्। अहिले जिल्लाभर भारी वर्षा भइरहेको छ। हिमाली भेगमा अत्यधिक हिमपात भइरहेको छ।
यार्सा टिप्न गएका छबिस पाथीभेरा गाउँपालिका ७ बुडखोरीका प्रकाश धामीले जोखिम बढेपछि घर फर्किनु परेको बताए। उनले आफूसहितको समूह फर्किएको बताए।सोमबार सुर्मा गाउँपालिका १ देवडीकी ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परी बेपत्ता भएकी थिइन्। छोरासहित पार्थी हिमालको वनमा यार्सा टिप्न गएकी उनी राति हिमपहिरो खस्न थालेपछि भाग्न खोज्दा पहिरोमा फसेकी हुन्। उनी अझैँ भेटिएकी छैनन्।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक रमेश अवस्थीले उनको खोजीमा मंगबार सुर्मा प्रहरी चौकीबाट सई भुवन बोहराको कमाण्डमा ५ जनाको टोली खटाइएको जानकारी दिए। मंगलबार छिमेकी जिल्ला दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी ५ जना यार्सागुम्बा संकलकहरू बेपत्ता भएका थिए। ७ जनालाई उद्धार गरी छाङरु ल्याइएको छ।