कञ्चनपुर: शनिबार हुने उपनिर्वाचनको सुरक्षार्थ नेपाली सेनाले गस्ती शुरु गरेको छ। नेपाल प्रहरी र शसस्त्र प्रहरीको सुरक्षा घेरा बाहिर सेनाले गस्ती थालेको हो। कञ्चनपुरको पुर्नवास नगरपालिका–३ मा शनिबार वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ। सो क्षेत्रमा सिंहसार्दुल गुल्म भगतपुर ब्यारेकका सह–सेनानी कृष्ण भण्डारीको नेतृत्वमा सेनाको टोली बुधबारदेखि नै खटिएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार निर्वाचन क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान स्थल सुरक्षार्थ सेनासँगै नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिए। जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार पुर्नवास–३ मा एक हजार १९९ मतदाता छन्।
सो वडाको गोरखा आधारभूत विद्यालयमा ‘क’ र ‘ख’ गरी दुई मतदान केन्द्र तोकिएको छ। यसअघि तत्कालिन वडाध्यक्ष फैरु तामाङ जिल्ला समन्वय समितिको प्रमुखमा निर्वा्चित भएपछि उक्त पद रिक्त थियो।
-रासस