बझाङ १९ बैशाख/बझाङमा हिमपहिरोमा परेर एक महिला बेपत्ता भएकी छन् । सुर्मा गाउँपालिका वडा नम्बर-१ देवडीकी ३३ वर्षीया झल्लादेवी बोहरा हिमपहिरोमा परेर बेपत्ता भएकी हुन् ।यार्सा संकलनका लागि पार्थी हिमाल पुगेकी उनी आफ्नै छोराहरूसँग फर्कने क्रममा हिमपहिरोमा परेर बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।
लगातारको वर्षाले हिमालमा बढी हिमपात भएपछि उनी घरतिर फर्कने बेला मंगलबार बिहान हिमपहिरोमा परेको खबर आएको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए । बोहरा हिमपहिरोमा परेर बेपत्ता भएको खबर आएपछि प्रहरीचौकी दौलीचोरबाट प्रहरी घटनास्थलतर्फ गएको छ । सो ठाउँमा प्रहरीलाई पुग्न ९र१० घण्टा लाग्ने बताइएको छ । प्रहरी पुगेपछि मात्रै घटनाको थप विवरण आउने प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।