धनगढी १८ बैशाख/कैलाली र कञ्चनपुर जिल्लाका ३ हजार बढी मुक्तकमैया धनगढीमा भेला भएका छन्। मुक्तकमैया पुनस्र्थापना लगायतका मागलाई सरकारले बेवास्ता गरेको भन्दै आन्दोलित उनीहरु सोमबार धनगढीमा भेला भएका हुन्। उनीहरुले वैशाख १४ गतेदेखि मुक्तकमैया, बुक्रही र कमलरीको न्यायिक पुनस्र्थापनाको माग राख्दै अधिकार यात्रा सुरु गरेका थिए।
सो अभियान अन्तर्गत उनीहरु धनगढीमा भेला भएका हुन्। मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीका अनुसार कैलाली र कञ्चनपुर जिल्लाका १५१ वटा शिविरबाट उनीहरु धनगढी आएका छन्। जसमा कैलालीका १२५ र कञ्चनपुर जिल्लाका २६ वटा शिविर कमैया सहभागी थिए। गेटा एयरपोर्टस्थित मुक्तकमैया शिविरबाट धनगढी चौराहासम्म अधिकारका लागि साइकल यात्रा गरिएको थियो।
सोमबार नै मुक्तकमैया समाजको प्रथम प्रदेश सम्मेलन पनि उद्घाटन गरिएको छ। सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो भने २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा गरेको थियो। सरकारी तथ्यांकअनुसार कञ्चनपुरमा सबै मुक्तकमैया पुनस्र्थापना भए पनि कैलालीमा ३८० जनाले जग्गा प्राप्त गर्न नसकेको बताइएको छ।
तर समाजको तथ्यांकअनुसार कैलालीमा ९५३ र कञ्चनपुरमा १२९ जना गरी १ हजार ८२ जना मुक्तकमैयाको अझै पुनस्र्थापना हुन बाँकी छ। समाजको तथ्यांक अनुसार सुदूरपश्चिममा १२ हजार ९ सय २४ मुक्तकमैया परिवार पुनस्र्थापित भएका छन्। त्यस्तै, भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ३ हजार ५०८ कमलरीको तथ्यांक संकलन गरेकोमा १ हजार १५८ जनाले परिचय पत्र पाएका छन्। सुदूरपश्चिममा अझै १ हजार ७३५ मुक्तकमलरीहरु परिचयपत्र पाउनबाट छुटेको मुक्त कमलहरी विकास मञ्चले जनाएको छ।