धनगढी ९ बैशाख/सेती प्रादेशिक अस्पतालमा सुदूरपश्चिममै पहिलो पटक दुरविन विधिबाट मृगौलाको शल्यक्रिया गरिएको छ ।
प्रादेशिक अस्पतालले सुरु गरेको ल्याप्रोस्कोपिक सिम्पल नेफ्रेक्टोमी सेवा अन्तरगत बुधबार कैलालीको पवेरा बस्ने ४९ वर्षीया महिलाको मृगौलाको शल्यक्रिया गरिएको जनाएको छ ।काठमाडौँको बिर अस्पतालबाट एमसीएच युरोलोजी गरेर आएका डाक्टर सुरेन्द्र बस्नेत नेतृत्वको टिमले प्रादेशिक अस्पतालमा दुरविन विधिबाट ती महिलाको मृगौला शल्यक्रिया गरेको हो ।
‘पत्थरीका कारण उहाँको बाँया किड्नीले काम गर्न छाडेको अवस्था थियो । हामीले दुरविन पद्धतीबाट त्यो किड्नीलाई बाहिर निकालेका हौँ,’ डा। बस्नेतले भने, ‘यो सुदूूरपश्चिम प्रदेशमै पहिलो पटक भएको शल्यक्रिया हो । अहिलेसम्म कुनै अस्पतालले गरेको छै्रन ।’
शल्यक्रियामा डा। बस्नेतसँगै डाक्टर जोनस तिवारी, डा.कपिल गौतम, डा.दिपेश श्रेष्ठ र क्षितिज बिक्रम तथा नर्सिङतर्फ सनिता कोइराला, पबिता बोहरा,लक्ष्मी उपाध्याय, जानकी पाण्डे, लालु डगौरा र रमैया चौधरी पनि संलग्न थिए ।
ल्याप्रोस्कोपिक सर्जरीले रक्तश्राव कम हुने, बिरामी चाडै सन्चो हुने, शरीरमा सानो दाग हुने, इन्फेक्सन कम हुने, धेरै दिन अस्पतालमा भर्ना भएर बस्न नपर्ने जस्ता सहजता गर्ने डाक्टर बस्नेत बताउँछन् । प्रादेशिक अस्पतालले युरोलोजी सम्बन्धीका अन्य शल्यक्रिया सेवा पनि चाडै सञ्चालनमा ल्याउने तयारी भइरहेको जनाएको छ ।