धनगढी, ३ वैशाख/भारतबाट फर्किनेहरूमा कोरोना सङ्क्रमण बढ्दोक्रममा देखिएपछि नाकामै कोरोनाविरुद्धको बुस्टर डोज खोप लगाउन थालिएको छ । गौरीफन्टा नाकामा स्वास्थ्यकर्मीले बुस्टर डोज लगाउन थालेका हुन् ।
अहिले भारतबाट फर्किरहेकाहरूमा सङ्क्रमण बढी देखा परेकाले नाकामै बुस्टर डोज खोप लगाउने कार्यलाई प्राथमिकता दिएको जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए ।‘अहिले हाम्रो ध्यान बुस्टर डोज लगाउनमा छ’ उनले भने । धामीका अनुसार भारतबाट फर्किरहेकासहित अन्य सर्वसाधारणलाई प्रथम र दोस्रो बुस्टर डोज दिइँदै छ । फाइजर र बाइभ्यालेन्ट खोप लगाइरहेको प्रमुख धामीले बताए ।
यसैगरी, नाका र सेती प्रादेशिक अस्पतालमा कोरोना परीक्षणको काम पनि भइरहेको उनले बताए । नाकामा एन्टिजेन विधिबाट र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने काम भइरहेको जनाइएको छ । ‘अहिले दुई ठाउँबाट मात्रै कोरोना परीक्षण भइरहेको छ’ धामीले भने ।