डोटी, २ वैशाख/ डोटीको दिपायल सिलगढी नगरपालिका–७, पाँकरीस्थित चौकीडाँडा गाउँमा दलित समुदायका ४० घरपरिवार बसोबास गर्दै आएका छन् । वर्षौंदेखि स्थानीय गैरदलित समुदायको हलो जोत्ने कार्य गर्दै आएका यी घरपरिवारले सरकारीबाट प्रदान गरिँदै आएको मुक्त हलियाको परिचयपत्रसमेत पाएका छैनन् ।
मुक्त हलियाको परिचयपत्र नभएका कारण यी घरपरिवारले सरकारीस्तरबाट सञ्चालन भएको मुक्त हलिया पुनस्र्थापना कार्यक्रमअन्तर्गत प्रदान गरिँदै आएको घर, जमिनलगायतका सुविधाबाट वञ्चित हुनु परेको छ ।आफूले भोगचलन गर्दै आएको जग्गासमेत आफ्नो नाममा नभएका कारण समय–समयमा समस्या हुने गरेको उनीहरूको गुनासो छ । स्थानीय कैलाश आउजीले भने, “बाजेदेखि यहाँ बस्दै आएका हौँ, हामीलाई यो जमिन विष्ट परिवारले दिएको हो भन्ने छ । यो जमिन हाम्रो नाममा पनि छैन । वर्षौंदेखि हलो जोत्दै आएका हामीसँग मुक्त हलियाको परिचयपत्रसमेत नभएका कारण सरकारी सेवा सुविधाबाट समेत वञ्चित हुनु परेको छ ।”
सरकारी तहबाट हलिया मुक्तिको घोषणा भएको १४ वर्ष पूरा भइसकेको छ । स्थानीय सीता पार्कीले भनिन्, “हामीले मुक्त हलियाको परिचयपत्रका लागि तीन पटक निवेदन दियौँ तर सुनुवाइ भएन । मुक्त हलिया महासङ्घ, मालपोत र जिल्ला प्रशासन कार्यालय धायौँ तर पनि परिचयपत्रसमेत पाउन सकेनौँ ।”
हातमुख जोर्न समस्या भएपछि बालबालिकासमेत कामका लागि भारत जान थालेका छन् । कक्षा ९ मा पढ्दै गरेको छोरालाई पैसा कमाउन भनेर भारत पठाउनु परेको दुःखेसो पोख्दै स्थानीय नरु कोलीले भने, “काम गरौँ खेतबारी छैन । जङ्गलबाट ल्याएको दाउरा बेचेर मात्रै छोरालाई पढाउने र घर खर्च टार्न सक्ने अवस्था भएन । छोराले पेटभर खान त पाउला भनेर भारत पठाएँ ।”मुक्त हलिया पुनस्र्थापनाको कार्यक्रम स्थानीय तहमा हस्तान्तण भएसँगै परिचयपत्र पाउनबाट छुट भएका मुक्त हलियाको नाम समावेश गर्ने तथा तथ्याङ्क सङ्कलन गर्ने विषयमा कुनै काम भएको छैन ।
दिपायल सिलगढी नगरपालिका–७ चौकीडाँडाका छुट भएका हलिया परिवारबारे यसअघि जानकारी नपाएको दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्काले वताए । उनले भने, “यसअघि मलाई जानकारी थिएन, त्यहाँको समस्याबारे के गर्नुपर्छ म आवश्यक पहल गर्छु ।”सरकारले २०६५ साल भदौ २१ गते साबिकको सुदूर र मध्यपश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न १२ जिल्लामा बँधुवा मजदुरका रूपमा रहेका हलिायाको मुक्तिको घोषणा गरेको थियो । ठूलो सङ्ख्यामा मुक्त हलिया पुनस्र्थापना प्याकेजमा समावेश हुन नसकेको मुक्त हलिया समाज डोटीका अध्यक्ष बजिरसिंह नेपालीले बताए ।
राष्ट्रिय हलिया मुक्ति समाज महासङ्घका अनुसार हालसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका १२ जिल्लामा जम्मा १६ हजार ९५३ मुक्त हलिया परिवारमध्ये १४ हजार २४२ परिवारले मात्र मुक्त हलियाको परिचयपत्र प्राप्त गरेका छन् । एक हजार ४९९ परिवार प्रमाणीकरण हुन बाँकी रहेका र ४४१ परिवारको प्रमाणीकरण भए पनि परिचयपत्र प्राप्त गर्न नसकेको बताइएको छ । दुई हजार ७११ परिवार पुनस्र्थापना हुन बाँकी छन् । एक हजार १०४ परिवारले मुक्त हलिया पुनस्र्थापना कार्यक्रमअन्तर्गत दोस्रो किस्ताको रकमसमेत प्राप्त गर्न सकेका छैनन् ।
