धनगढी १ बैशाख/ नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सुदूरपश्चिमको मौलिक संस्कृतिकका रुपमा रहेको बिशु पर्वको विशेष महत्व रहेको भन्दै राष्ट्रिय पर्वका रुपमा मनाउनुपर्ने बताएका छन् । पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलले बिशु पर्वको विशेष खालको सांस्कृतिक र सामाजिक मूल्य मान्यता रहेको बताउदै यसलाई सुुदूरपश्चिममा मात्र नभएर देशव्यापी रुपमा मनाउनुपर्ने बताएका छन् ।
एमाले सुदूरपश्चिमले नयाँ वर्षको अवसरमा शुक्रबार धनगढीमा आयोजना गरेको बिशु पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले मानिसहरुबीचका शत्रुता, कटुततापूर्ण सम्बन्धलाई बिर्साएर एकताबद्ध बनाउने पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउन आवश्यक रहेको उल्लेख गरेका हुन् । ‘मिसन ग्रासरुट अभियानमा म डोटी आउदा कमरेड लेखराज भट्टले सामाजिक सदभाव र एकताको पर्वका रुपमा बिशु मनाउने चलन छ भन्नुभएको थियो । पछि मैले बुझ्दै जादा यसको छुट्टै खालको महत्व रहेछ,’ पौडेलले भने, ‘सम्बन्धका क्रममा व्यक्तिका बीचमा कटुतता, बैमनुष्यता, झगडा, शत्रुताका घटना घट्न सक्छन् । अघिल्लो वर्ष जे गरियो गरियो तरे यो वर्ष विगतका सबै कुराहरु बिर्सिन्छौँ । एकताका साथका अगाडि बढेछौँ भनेर प्रण गर्ने कति राम्रो छ ।’
पौडेलले सुदूरपश्चिमको भूमीमा जन्मिएर हुर्किएको बिशुलाई त्यसका मूल्य र मान्यताका आधारमा राष्ट्रिय रुपमै मनाउनुपर्ने बताए । ‘सुुदूरपश्चिमको भूमीमा जन्मिएको, हुर्किएको यो पर्वका मूल्य र मान्यतका आधारमा यहाँ मात्र सिमित रहदैन । राष्टिय पर्वका रुपमा मनाउनुपर्छ,’ पौडेलले अगाडी भने, ‘आम जनताको पर्वका रुपमा विकसित गर्नुपर्छ । सबैले एकअर्कालाई सिस्नु लगाएर गलत व्यवहार र सम्बन्धलाई बिर्सिएर बिकृतिलाई परित्याग गर्दै एकताबद्ध हुनुपर्छ ।’
प्रमुख अतिथि समेत रहेका पौडेलले पार्टी सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई सिस्नु लगाएर शुभकामना आदानप्रदान कार्यक्रम उद्घाटन गरेका थिए भने अन्य नेता तथा कार्यकर्तालाई समेत सिस्नु लगाएर बिसुु पर्वको शुभकामना दिएका थिए । प्रदेश इन्चार्ज भट्टले सुदूरपश्चिममा लामो समयदेखि सिस्नु लगाएर मनाइने बिशु पर्वको सामाजिक, सांस्कृतिक र वैज्ञानिक कारणले समेत महत्वपूर्ण भएको बताएका छन् । ‘बिशु पर्व सुदूरपश्मिेलीहरुले वैदिक कालदेखि मनाउदै आएको पर्व हो । यसको सामाजिक, सांस्कृति र वैज्ञानिक कारणहरु छन्,’ भट्टले भने, ‘आजको दिन सिस्नु लगायो भने अघिल्ला वर्षका सबै बिकार फाल्छ, कुनै रोग शरीरमा लाग्दैन् । अर्को कुरा हिजोका दिनमा हामीबीच कुनै समस्याहरु छन, अन्तरविरोध छन् भने सिस्नु लगाएर सबै दोष फालेर सम्बन्धलाई नयाँ र एकताबद्ध रुपमा अघि बढाउनुपर्छ भन्ने मान्यता छ ।’
शुभकामना आदानप्रदान कार्यक्रममा एमालेका स्थायी कमिटि सदस्य कर्ण थापा, पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावल, नारदमुनी राना, निरुदेवी पाल, लिला भण्डारी, सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायतका नेताहरुले एकआपसमा सिस्नु लगाएका थिए । उनीहरुले कार्यक्रममा सहभागी अन्य नेता तथा कार्यकर्ताहरुलाई समेत सिस्नु लगाएका थिए । सुदूरपश्चिममा हरेक वर्ष बैशाख १ गते एकआपसमा सिस्नु लगाएर बिशु पर्वका रुपमा मनाउने परम्परा रहेको छ ।