धनगढी १ बैशाख/दार्चुलामा भीरमा अड्किएको अवस्थामा किशोर र किशोरीको शव भेटिएको छ । जिल्लाको नौगाड गाउँपालिका–५ कोे बासिडाँडाको भीरमा बिहीबार दुुई जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले नौगाड गाउँपालिका–४ बस्ने अन्दाजी १७ वर्षीया सञ्जिला धामी र लोकेन्द्र ठगुन्ना भीरमा मृत अवस्थामा भेटिएको बताए । ‘उहाँहरु दुई जनाको शव भीरमा अड्किएको अवस्थामा भेटिएको छ । हामीले बिहीबारदेखि नै निकाल्ने प्रयास गरिरहेका छौँ,’ डीएसपी पाण्डेले भने ।
डीएसपी पाण्डेकाअनुसार उनीहरु नौगाड गाउँपालिका–५ मा बिसु पर्वको अवसरमा लाग्ने मेला हेर्न घरबाट २९ चैतमा निस्किएको बुझिएको छ भने दुवै जना प्रेम सम्बन्धमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर अनुसन्धानपछि मात्र घटनाको वास्तविकता खुल्ने प्रहरीको भनाई छ । उनीहरुले प्रयोग गर्ने मोबाइल पनि घटनास्थल नजिकै भेटिएका छन् ।