धनगढी २७ चैत/कैलालीको मालाखेती अस्पतालमा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि अहिलेसम्म तनाब कायमै छ।आइतवार बिहान सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी गोदावरी नगरपालिका वडा नम्बर २ कडायत टोलकी २८ वर्षीया लक्ष्मी भट्टराई र नवजात शिशुको मृत्यु भएको हो। अस्पतालको लापरबाहीका कारण सुत्केरी र शिशुको मृत्यु भएको भन्दै स्थानीयले दिनभर प्रदर्शन गरेका हुन्।
मृतका आफन्त र स्थानीयले महेन्द्र राजमार्ग अबरुद्ध गरेर प्रदशर्न गरिरहेका छन्। उनीहरुले अस्पतालको लापरबाहीले आमा र शिशुको मृत्यु भएको भन्दै चिकित्सक र घटनामा संलग्न स्वास्थ्यकर्मीलाई कारबाहीको माग गरेका छन्। मृतक महिलाको ६ वर्षीय बालकको लालनपालन गर्ने जिम्मा पनि अस्पतालले लिनुपर्ने भन्दै प्रदर्शन भइरहेको मृतकका आफन्त गोपालदत्त भट्टले बताए।
दिनभर समस्या समाधानको लागि छलफल भए पनि कुनै सहमति नहुँदा मृतकको शव उठाइएको छैन। समस्याको समाधानको लागि गोदावरीका नगरप्रमुख बिरेन्द्र भट्ट पनि अस्पताल पुगेका छन्। आफन्तले घटनामा संलग्न चिकित्सक र अन्य स्वास्थ्यकर्मीलाई हिरासतमा राखेर छानबिन हुनुपर्ने माग राखेपछि अहिले अस्पतालका मेसु अन्वेश कोइराला र स्टाफ नर्स यशोदा ढकाललाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा ल्याइएको प्रहरीले जनाएको छ।