धनगढी, २७ चैत/कैलालीको गोदावरी नगरपालिका वडा नं। ३ मा रहेको मालाखेती अस्पतालमा बच्चा सहित एक जना सुत्केरी महिलाको मृत्यु भएको छ । आईतबार बिहान सुत्केरीका लागी आएकी गोदावरी नगरपालिका वडा नं २ कडायत टोलकी २८ वर्षिया लक्ष्मी भट्टराई को मृत्यु भएको हो । अस्पतालमा डाक्टरहरुको लापरबाहीका कारण सुत्केरी र बच्चाको मृत्यु भएको भन्दै स्थानियहरुले विरोध गरेका छन ।
स्थानियहरुले सोमबार बिहानदेखी अस्पतालको सेवा प्रवाह ठप्प पारेका छन । स्थानियहरुले लापरबाही गर्ने डाक्टर र प्रशासनलाई कारबाहीको माग गरेका छन । चैत १८ गते सुत्केरी मिति भएपनि २६ गते अस्पताल गएकी भट्टराईलाई सुत्केरी व्यथा नलागेको उनकी बहिनी धर्मा भट्टराईले बताईन । उनले नर्मल छ भन्दै उपचारमा डाक्टरहरुले चासो नदिएको बताईन । ‘सुत्केरी व्यथा नलागेकाले डाक्टरहरुले दुई तिन चोटी व्यथा लाग्ने औषधी लगाए, तर पनि व्यथा लागेन’ उनले भनिन ‘हिजो साँझ सम्म पनि केही भएन, डाक्टरहरुले टाईम टाईममा आएर औषधी राख्ने जाने गर्नुभयो, त्यति मतलब गर्नुभएन ।’
उनले डाक्टरहरुले मतलब नगरेकाले समयमै उपचार नहुँदा आफ्नो दिदिको मृत्यु भएको बताईन । ‘रातीको समयमा नर्सहरुलाई बोलाउदा हामीहरुलाई सुत्न दिनुस, हामी बिहान आउछौ भनेर भन्न थाले’ उनले भनिन् ‘बिहान ३ बजेतिर अफ्ठ्यारो हुदैछ भनेर दिदिले हिडडुल ग¥यो, उनलाई बिहानदेखी सास फेर्न अफ्ठ्यारो भएको थियो ।’ उनले बिहानदेखी नर्सहरुले अक्सिजन चढाएको बताईन । उनले सुत्केरीलाई ज्वरो आउने र सास फेर्न अफ्ठ्यारो हुने भएपछि मात्रै अलिकती ध्यान दिएको बताईन ।
उनले बिहान अर्को डाक्टर आएपछि मात्रै उनले विरामीलाई समस्या भएको जानकारी गराएको बताईन । उनले विरामीलाई अरु केही चेकअप नगरी सुईबाट औषधी चढाउने काम मात्रै गरिएको बताईन । उनले बच्चा पनि मरेको निकालिएको बताईन । ‘बच्चा नर्मल छ भनेर भनेका थिए, तर निकाल्दाखेरी न त बच्चा करायो न त रोयो, बच्चा मरेको निस्कीएको थियो’ उनले भनिन् ‘बच्चा नरोएपछि नर्सहरुले बच्चालाई अक्सिजन समेत लगाएका थिए ।’
तर यता अस्पतालका प्रमुख डाक्टर अन्वेश कोईरालाले भने बच्चा जन्मिने बेला पाठेघरमा हुने पानी फोक्सोमा जाँदा सुत्केरीको मृत्यु भएको बताएका छन । उनले विरामीको अन्य सबै कुरा नर्मल भएको र विहान अचानक नै उक्त समस्या आएको बताए । उनले डाक्टरहरुले आफुले सक्दो मेहनत गरेको तर उक्त समस्या अचानक आएकाले नै विरामीको मृत्यु भएको बताए । अस्पतालमा सुत्केरी र बच्चाको मृत्यु भैसक्दा समेत अस्पताल प्रशासनले छलफल थालेको छैन । अस्पताल प्रशासन सँग छलफल थालेर निर्णय लिने पिडित पक्षले बताउदै आएको भएपनि अस्पतालमा प्रशासनका कुनै पनि व्यक्तिहरुको उपस्थिति भएको छैन । अस्पतालले केही दिन अगाडी मात्रै एक जना सुत्केरीको सफल शल्यक्रिया गरेको थियो । तर अप्रेशन सेवा सुरु भएको केही दिनमै अस्पतालमा नर्मल भनिएकी सुत्केरी र बच्चाको मृत्युले स्थानियमा आशंका उब्जाएको छ ।