बझाङ ८ चैत/बझाङको केदारस्युँ गाउँपालिकाले कार्यालयको काम सुरु गर्नु अघि राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको छ । राष्ट्रिय गानको सम्मान र जिम्मेवारीता बढाउन कार्यालय सुरु हुनु अघि राष्ट्रिय गानमा सरिक भएर मात्रै कर्मचारी र जनप्रतिनिधिले काम सुरुवात गर्नेछन् ।
गाउँपालिकाले चैत गतेदेखि कार्यालय समय सुरु हुनु भन्दा पहिला राष्ट्रिय गान गाउने कार्यको सुरुवात गरेको जनाएको छ । प्रत्येक दिन कार्यालय समय सुरु हुनु पूर्व राष्ट्रिय गान गाएर मात्रै काम सुरु गर्ने गरी अघि बढिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्यायले जानकारी दिए ।
उनले राष्ट्रिय गानपश्चात गाउँपालिकाको सेवा प्रवाह तथा गतिविधिबारे कर्मचारीहरुलाई जानकारी गराउन पनि सहज हुने बताए ।
यस्तै राष्ट्रिय गानलाई निरन्तरता दिने र आम नागरिकलाई नयाँ सन्देश दिन खोजेको उनले बताए । उनले सम्पूर्ण कर्मचारीलाई समयमै कार्यालयमा उपस्थित हुन निर्देशन समेत दिइएको बताए । ‘राष्ट्रिय गान गाएर कार्यालयको काम सुरु गर्दा समयमै कर्मचारी कार्यालयमा उपस्थिति हुने र सेवाग्राहीलाई समयमै सेवा प्रदान गर्न सकिने पनि हाम्रो विश्वास छ’, उनले भने ।