काठमाडौं ।
नेपाल भ्रमण वर्षको शुभारम्भ काठमाडौँसँगै सातवटै प्रदेशबाट गरिने भएको छ । भ्रमणको शुभारम्भ जनवरी १ तारिख९पुस १६०मा काठमार्डौस्थित दशरथ रङ्गशाला र सोही दिन सातवटै प्रदेशबाट गरिने भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जानकारी दिए ।
नेपाल भ्रमण वर्ष–२०२० मूल समारोह समितिको पाँचौँ बैठकमा सम्बोधन गर्दै यसैगरी मन्त्री भट्टराईले सबै प्रदेशले भ्रमण वर्षलाई सहयोग हुने गरी कार्यालय स्थापना गर्ने बताए । एक हप्ताभित्र भ्रमण वर्ष सचिवालयलाई सहयोग गर्ने खालको कार्यालय स्थापना गर्ने निर्णय गरिएको उनले बताए । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भ्रमण वर्ष सफल बनाउन आफ्नो प्रदेशले सक्दो सहयोग गर्ने बताए । ‘हामी पनि हाम्रो प्रदेशमा भएका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरेर पर्यटकलाई आफ्नो प्रदेशमा ल्याउने छौँ,’’ उनले भने, ‘सङ्घले पनि भ्रमण वर्षलाई सफल बनाउनका लागि प्रदेश सरकारसँग समन्वय गर्नुपर्छ ।’
कार्यक्रममा प्रदेश नं ३ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपालले पर्यटनसँग सम्बन्धित कार्यक्रम आफूहरुले सञ्चालन गरिसकेको भन्दै भ्रमण वर्ष लक्षित कार्यक्रम सङ्घ सरकारको समन्वयमा गरिने बताए । कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाले कर्णाली प्रदेशमा पर्यटक बढाउनका आकर्षित गरिरहेको बताए । कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले भ्रमण वर्ष सफल पार्नका लागि भौतिक पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले अन्तरराष्ट्रिय उडान अवतरण हुनुभन्दा अगाडि दुई मिनेट भ्रमण वर्षबारे जिङ्गल बनाइने तयारी गरिएको बताए । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाले भ्रमणलाई लक्ष्य गरेर आठ कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भ्रमण वर्षमा सुरक्षालाई मजबुत गरिने बताए ।
गैरनेपाली आवासीय सङ्घका अध्यक्ष कुमार पन्तले भ्रमण वर्षको अवसरमा डिसेम्बर ३१ र जनवरी १ तारिखमा ८३ देशमा साइकल र कार ¥याली गरिने जानकारी दिए । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भ्रमण वर्ष सफल बनाउन निजी क्षेत्र लागिरहेको बताए । कार्यक्रममा भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले सबै नेपालीलाई भ्रमण वर्षमा आबद्ध गराइने बताए । उनले प्रदेश र स्थानीय तहसँग समन्वय गरेर भ्रमणका कार्यक्रम तय गरिने समेत जानकारी दिए ।
उनले सबै नेपालीलाई प्रतिबद्धता गराएर नेपाल घुम्न आग्रह गरिने बताए। ‘नेपालको खाली नक्शामा आफू कहाँ जाने भनेर सबैलाई हस्ताक्षर गरेर भर्न लगाउछौँ,’ उनले भने, ‘अनि प्रतिबद्धता गरेअनुसारका ठाउँमा घुम्न आग्रह गर्छौँ ।’
अन्तर प्रदेश र अन्तरराष्ट्रिय उडान
नेपाल भ्रमण–२०२० लाई लक्ष्य गरी आन्तरिक र बाह्य उडान थप गर्न थालिएको छ । पर्यटनमन्त्रीले अन्तरराष्ट्रिय उडानका लागि अन्तरराष्ट्रिय एयरलाइन्ससंँग कुरा समेत भइरहेको जानकारी दिए । ‘सङ्घीयताको अभ्यासलाई जोड्न र भ्रमण वर्षलाई लक्ष्य गरेर कुनकुन प्रदेशबीच हवाई सेवा सञ्चालन गर्न सकिन्छ, त्यसबारे अध्ययन भइरहेको छ,’ उनले भने, ‘चाँडै अन्तरप्रदेश हवाई सञ्चालन गर्ने छौँ ।’
उनले पर्यटन व्यवसायीका मागलाई ध्यानमा राखेर पर्यटनसंँग सम्बन्धित नीतिलाई सहयोगी बनाइने समेत धारणा राखे । मन्त्री भट्टराईले पर्यटन प्रवद्र्धनका लागि भौतिक पूर्वाधार आवश्यक रहेकाले सम्बन्धित मन्त्रालयले भौतिक पूर्वाधारको विकास गर्नुपर्ने बताए । उनले भ्रमण वर्षकै अवसरमा नयाँ हिमाल खुलाउने पहलसमेत भएको जानकारी दिए ।
उनले वैदेशिक रोजगार र अध्ययनका लागि जाने विद्यार्थीलाई भ्रमण वर्षको प्रचारप्रसारका लागि भ्रमण वर्षको प्रतीकचिह्नाङ्कित टिसर्ट र टोपी दिएर पठाइने समेत बताए । वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारमा जानेलाई र शैक्षिक परामर्श सङ्घले विद्यार्थीलाई टिसर्ट र टोपी दिएर पठाउनुपर्ने छ । ‘विदेशमा जाने श्रमिकलाई रोजगारदाताका सञ्चालक र अध्ययन गर्ने जाने विद्यार्थीले आफू पढ्ने विश्वविद्यालय÷कलेजका सञ्चालकलाई भ्रमण वर्ष प्रतीकचिह्नाङ्कित कुनै न कुनै उपहार दिन लगाउने छौँ,’ उनले भने, डिसेम्बर १ तारिखदेखि भ्रमण वर्ष अङ्कित लोगो वितरण गर्ने छौँ ।’