काठमाडौं । सरकारले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीबाट असुल गरेको अतिरिक्त शुल्क मंगलबारसम्ममा फिर्ता नगरे कलेज सञ्चालकलाई पक्राउ गरी ठगीमा मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ ।
सोमबार गृहमन्त्रालयमा भएको सर्वपक्षिय छलफलपछि कलेज सञ्चालकहरुलाई शुल्क फिर्ता गर्न मंगलबारसम्मको अन्तिम अल्टिमेटम दिइएको हो। छलफलमा गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरीराजमणी पोखरेल, महान्यायाधिवक्ता अग्नीप्रसाद खरेल र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल सहभागी थिए ।
गत असोज र कार्त्तिकमा गृहमन्त्रालयमा गृहमन्त्री र शिक्षामन्त्री लगायतका पदाधिकारीहरुसहित बसेको बैठकले सुरुमा एक महिना र त्यसपछि थप १५ दिनको समयसिमा दिँदै बढी लिएको रकम फिर्ता गर्न वा समायोजन गर्न आग्रह गर्दै फिर्ता नगरे कारवाही अघि बढाउने निर्णय गरेको थियो । सरकारले दिएको १५ दिनको समयसिमा आइतबार सकिएको छ ।