धनगढी, ९ मङ्सिर – सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको वित्तीय सम्मेलनको तयारी तीव्र पारेको छ । प्रदेशमा वित्तीय साक्षरता अभिवृद्धि सँगै बाह्य लगानीको वातावरण तयार पार्नका लागि समेत सम्मेलन आयोजना गर्न लागेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले मङ्सिर २० गते एक दिवसीय वित्तियसम्मेलनको आयोजना गर्दै छ । प्रदेशका जनताको वित्तीय साक्षरतामा पहुँच बढवा गरी आर्थिक समृद्धि गर्ने उद्देश्यले वित्तीय सम्मेलन आयोजना गर्न लागिएको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमनराज अर्यालले बताए । ‘प्रदेश सरकारले लगानी भित्र्याउने उद्देश्यका साथ सम्मेलन आयोजना गर्न लागेको हो,’ उनले भने ।’
सम्मेलनमा देशभरका वित्त विज्ञ, बैक तथा वित्तीय सङ्घ संस्थाका सिइओ, सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहका जन प्रतिनिधि गरी ४ सय बढीको सहभागिता रहने गरी प्रदेश सरकारले तयारी तीव्र पारेको उनले बताए । प्राज्ञिक सँगै व्यावसायिक जमघट हुने गरी सम्मेलनको तयारी गरिएको छ ।
सुदूरपश्चिम प्रदेशमा अहिले पनि वित्तीय पहुँच सबै स्थायी तहमा पुग्न सकेको छैन । ‘वित्तीय साक्षरताको कमीले त झन् बैङ्क तथा वित्तीय सङ्घ संस्था प्रति स्थानीयको विश्वास समेत छैन,’ अर्याल भने ।’ ‘त्यस कारण यसले वित्तीय साक्षरता अभिवृद्धिमा मुख्य टेवा पु¥याउने छ ।’ प्रदेश सरकारले यसै वर्ष लगानी सम्मेलन गर्ने समेत जनाएको छ ।
यद्यपि त्यसको तयारीमा भने सरकार जुटिसकेको छैन । आसन्न वित्तीय सम्मेलनमा अर्थमन्त्री, नेपाल राष्ट्र बैङ्कका गभर्नर, योजना आयोगका अध्यक्ष, लगानी बोर्डका अध्यक्ष लगायतको समेत सहभागिता रहने जनाइएको छ ।
