काठमाडौं, मंसिर/ २१; नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरे। एक वर्षका लागि भएको सम्झौता २0मङ्सिर २0७९ देखि लागू भइसकेको छ ।
सम्झौताअनुसार प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र सबै प्रतिष्ठान शाखामा आबद्ध एक हजार चार ६७ पत्रकारलाई परिचयपत्रका आधारमा बहिरङ्ग सेवामा ५0, प्रयोगशाला परीक्षणमा ४0 र औषधि खरिदमा १0 प्रतिशत छुट उपलब्ध गराउनेछ । पत्रकारको विवरण प्रदेश समितिले क्लिनिकलाई उपलब्ध गराउनेछ ।
प्रतिष्ठान आबद्ध पत्रकारका आश्रित परिवारका तीन जनासम्म सदस्यलाई सूची उपलब्ध भएपछि सोही छुट उपलब्ध हुनेछ । क्लिनिकमा प्रजनन् स्वास्थ्य, कलेजो प्रत्यारोपण, स्त्री तथा प्रसूति, हाडजोर्नी, मधुमेह तथा थाइरोइड, ग्यास्ट्रोलोजी, मुटु, शल्यक्रिया, दन्त उपचार, मनोपरामर्श तथा उपचार, मिर्गौलासम्बन्धी उपचार, नाक, कान, घाँटी, बालरोग, स्नायु, टेस्टयुब बेबी, छालासम्बन्धी सेवा, फिजियोथेरापी, स्तन क्यान्सरको उपचार र सम्पूर्ण ल्याबसम्बन्धी सेवा उपलब्ध रहेको डा रानाभाटले बताए ।
महासङ्घका केन्द्रीय सदस्य मणि दाहालले समझदारीले खासगरी श्रमजीवी पत्रकारलाई गम्भीर स्वास्थ्य समस्या आउँदा उपचार र आर्थिक रुपमा राहत हुने विश्वास व्यक्त गरे ।