धनगढी रंगशालामा प्याराफिट निर्माणको योजना पार्दै प्रदेश र संघिय सरकारले गत वर्ष झण्डै ५९ लाख बजेट खर्च गरेको छ। प्याराफिट निर्माणको एउटै योजनामा संघले ३९ लाख र प्रदेशले २० लाख गरी ५९ लाख बजेट विनीयोजन गरी खर्च गरेको दावी गरिएको छ। तर प्याराफिट निर्माणको काम अधुरै रहेको छ।
५९ लाखमा प्याराफिटको १० वटा पिल्लर र बेसको काम गरिएको छ तर त्यो पनि अधुरै छ। उक्त काममा युवा तथा खेलकुद मन्त्रालयबाट आएको ३९ लाख खर्च भएको क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रेम मल्लले जानकारी दिए।
तर अन्य कुन निकायको बजेट खर्च गरिएको छ भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया मल्लको थियो। तर संघिय सरकारको ३९ लाख र सुदूरपश्चिम सरकारको एक निर्वाचन क्षेत्र एक खेल मैदान निर्माण एवंम सुधार अन्र्तगतको २० लाख छुट्याउँदै प्याराफिट निर्माणको नाममा आर्थिक अनियमितता गरिएको आरोप लागेको छ।
क्षेत्रिय खेलकुद विकास समितिको मिलेमतोमा निकटका व्यक्तिलाई उपभोक्ता समितिमा भर्ना गर्दै काम सम्पन्न नहुँदै भुक्तानी दिईएको आरोप लगाईएको छ। क्षेत्रिय खेलकुद विकास समिति, सामाजिक विकास मन्त्रालय र शिक्षा निर्देशनालयका कर्मचारीको मिलेमतोमा प्याराफिट निर्माणमा आर्थिक अनियमितता गरिएको स्रोतले दावी गर्दै आएको छ।
तर प्रदेशको शिक्षा निर्देशनालयका इन्जिनीयर दिनेश बोहोराले भने प्रदेशको सामाजिक विकास मन्त्रालयले २० ला बजेट छुट्याएको भएपनि १६ लाख मात्रै खर्च भएको बताए। उनले प्याराफिटमा स्टमेट अनुसारकै काम भएको जिकिर गरेका छन्।
प्याराफिट निर्माणमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य डिल्लीराज पन्तको नाम समेत मुछिएको छ। पन्तकै सिफारिसमा एक निर्वाचन क्षेत्र एक खेलकुद मैदान निर्माण एवंम सुधार कार्यक्रम वापतको २० लाख बजेट कार्यान्वयनका लागि समिति बनाईएको दावी गरिएको छ। तर प्रदेशसभा सदस्य पन्तले बजेट निकासाका लागि मात्र सिफारिस गरिएको बताएका छन्।

(साभार: दिनेश खबरबाट)