धनगढी मंसिर/ १६,बैतडी घर भई धनगढीको पञ्चोदय माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी १५ बर्षीय चेतना साँउद मृत्यु घट्नालाई गम्भीर रुपमा लिन सुदूरपश्चिम प्रदेश सांसद प्रकाश देउवाले अपिल गरेका छन् । उनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘विद्यार्थीको ग्रेडरको ठक्करबाट मृत्यु भएकोमा म अत्यन्त मर्माहित भएको छु । शोकको यस घडीमा दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’ उनले विद्यार्थी साँउदको मृत्युपछि उत्पन्न परिस्थितिलाई गम्भीरतापूर्वक लिई तत्काल मृतकका परिवारजन र आन्दोलनरत पक्षका माग र मुद्दालाई तत्काल सम्बोधन गर्न स्थानीय प्रशासनलाई माग गरेका छन् ।
‘अराजक, उच्छृंखल तथा कानुनको बर्खिलाप हुने कुनै पनि किसिमका क्रियाकलाप नगर्न आन्दोलनरत पक्षसंग आग्रह गर्दछु ।’ उनले विज्ञप्तिमा भनेका छन् ।
आन्दोलनरत पक्षलाई संयमता अपनाउन तथा वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न मृतकका परिवार र प्रशासन दुबै पक्षलाई आग्रह गर्दै दोषीमाथि कारबाही र मृतकका परिवारजनलाई क्षतिपूर्ति र न्यायका लागि आवश्यक कानुन उपचारको प्रक्रियामा आफ्नो पूर्ण साथ र सहयोग रहेको विज्ञप्तिमा मार्फत जानकारी गराएका छन् ।