काठमाडौं, १२ मंसिर । पाँचपटकको विश्व च्याम्पियन ब्राजिललाई आज (सोमबार) कतारमा जारी फिफा विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्यान्डले चुनौती प्रस्तुत गर्दै छ ।
समूह ‘जी’मा रहेको ब्राजिललाई समूह चरणको पहिलो खेलमा सर्बियाको चुनौती थियो । तर, रिचार्लिसन चम्कँदा टिटेको प्रशिक्षणमा रहेको ब्राजिलले २–० को सहज जित निकालेको थियो ।
कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिनासँगको हारेयता ब्राजिल अपराजित छ । सन् २०२१ जुनमा अर्जेन्टिनासँग हारेको ब्राजिलले आफ्नो अपराजित यात्रालाई १६ खेलसम्म पुर्याइसकेको छ । तर, स्वीट्जरल्यान्डविरुद्ध मैदानमा उत्रँदा ब्राजिललाई आफ्नो प्रमुख फरवार्ड नेइमार र रक्षक ड्यानिलोको साथ हुने छैन । यी दुवैलाई सर्बियाविरुद्धको खेलमा चोट लागेको थियो । दुवै खेलाडीको खुट्टाको जोर्नीमा समस्या देखिएको थियो ।
पहिलो खेलमा क्यामरुनलाई पराजित गरेको स्वीट्जरल्यान्ड पनि यो समूहबाट अन्तिम १६ मा पुग्ने दाबेदार टिम हो । पहिलो खेलमा क्यामरुनलाई १–० ले पराजित गरेको स्वीट्जरल्यान्ड समेत सहज अवस्थामा छ । स्वीट्जरल्यान्डलाई जित दिलाउँन ब्रिल इम्बोलोले निर्णायक गोल गरेका थिए । मुरत याकिनको प्रशिक्षणमा रहेको स्वीट्जरल्यान्डसँग ब्राजिललाई हराउन सक्ने क्षमता छ ।
समूहमा समान तीन अंक जोडेका ब्राजिल र स्वीट्जरल्यान्ड तालिकाको क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । आजको खेलमा विजयी हुने टिमले अन्तिम १६ को यात्रा लगभग पक्का गर्नेछ ।कतारको ९७४ रंगशालामा यो खेल नेपाली समयानुसार राति ९ः४५ बजेदेखि सुरु हुनेछ ।
यी दुई टिमबीच हालसम्म नौ अन्तर्राष्ट्रिय खेल भएका छन् । त्यसमध्ये तीन खेल ब्राजिलले जितेको छ । दुई खेलमा स्वीट्जरल्यान्ड विजयी भएको छ । यी दुई टिमबीचका चार खेल बराबरीमा सकिएको थियो ।विश्वकपमा यसअघि ब्राजिलले दुईपटक स्वीट्जरल्यान्डविरुद्ध खेलेको छ । दुवै खेल बराबरीमा टुंगिएको थियो ।