काठमाडौं, ३० कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मौसम सामान्य बदली रहने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको दिन (मंसिर ४ गते)आंशिक बदली हुने जनाएको छ ।
मंसिर ४ गते प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना विभागले जनाएको छ ।
निर्वाचनलाई लक्षित गर्दैै विशेष बुलेटिन जारी गरेको विभागले शुक्रबारदेखि आइतबार ४ गतेसम्मको मौसम पूर्वानुमान सार्वजनिक गरेको हो ।
शुक्रबार प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
शनिबार प्रदेश– १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश–१, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।