सुदूरपश्चिम प्रदेश सभाले माइक फेर्न पनि आइएनजिओको पैसा लिएको छ । सरकारले राखिदिएका हातेमाइक हटाएर युएनडिपीको पैसामा डिजिटल माइक राख्न राखेको हो । प्रदेश सभा सचिवालयले सभामुख तथा प्रदेश सभा सदस्यको कुर्सीअगाडि राखिएका माइक फेर्न लागिएको जनायो । त्यस्तै, सभामुखको कुर्सीपछाडि र हल बाहिर भिडियो डिस्प्ले पनि युएनडिपीकै सहयोगमा राख्न लागिएको प्रदेश सभा सचिव रामसिंह धामीले बताए । युएनडिपीकै सहयोगमा मिडिया सेन्टर पनि राख्न लागिएको छ ।
आइएनजिओको पैसाले प्रदेश सभा भवनभित्र नयाँ उपकरण जडान गरिँदै
‘सदनभित्रको कुर्सीमा राखिएका माइक हेर्दा भद्दा र गह्रुंगा छन्, त्यसलाई हटाएर डिजिटल माइकहरू राख्दै छौँ,’ सचिव धामीले भने । यसअघि रहेको साउन्ड सिस्टम विषयगत समितिको कार्यालयमा सारिने उनले बताए ।
प्रदेश सभा बैठक युट्युबमा प्रत्यक्ष हेर्न मिल्ने गरी अडियो–भिडियो उपकरण प्रणाली आइएनजिओकै पैसामा व्यवस्थापन गर्न लागिएको छ । प्रदेशका नौवटै जिल्लाका समन्वय समितिका संयोजकसँग कानुन निर्माण तथा दैवी प्रकोपका वेला भिडियो प्रणालीबाट प्रत्यक्ष कुराकानी गर्न सक्ने व्यवस्थासहित प्रदेश सभा सचिवालयभित्र कक्ष स्थापना गर्न लागिएको हो । त्यस्तै, एउटा रगिंन प्रिन्टर तथा लाइब्रेरीका लागि १० वटा कम्युटर पनि युएनडिपीले सहयोग गरेको छ ।
संसद् सचिव धामीले युएनडिपीको संसद् सहयोग परियोजनाका लागि संघीय संसद्ले नै सम्झौता गरेकाले सहयोग स्वीकार गरिएको बताए । तर, प्रदेश प्रदेश सभाकै आग्रहमा सहयोग गरिएको युएनडिपीका आउटरिच टिम लिडर डिला पन्तको भनाइ छ ।
संसद्भित्रका ससाना सामान राख्न पनि आइएनजिओको पैसा लिएको भन्दै कतिपय सांसदले आपत्ति जनाएका छन् । ‘संसद्भित्र नयाँ उपकरणहरू राख्न लागिएको मैले पनि सुनेको छु,’ नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले भने, ‘सामान्य चिजहरू पनि दातालाई माग्नुभन्दा सरकार आफैंले व्यवस्थापन गरेको भए हुन्थ्यो ।’
संसद्को प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका प्रवक्ता डिल्लीराज पन्तले संसद्भित्र पनि आइएनजिओ प्रवेश गराइएकोमा आपत्ति जनाए । ‘बरु अरू सामाजिक काममा दाताको सहयोग माग्ने हो । संसद्भित्रका माइक राख्न पनि दातालाई गुहार्नु दुःखद् हो, यो काम सरकार आफैँले पनि गर्न सक्छ ।’
दलको कार्यालयका कुर्सी–टेबुलसमेत आइएनजिओकै पैसामा
संसदीय दलका कार्यालयका टेबुल–कुर्सी पनि युएनडिपीकै सहयोगमा किनिएका छन् । नेकपाको संसदीय दलको कार्यालयमा युएनडिपीले सहयोगस्वरूप दिएका कुर्सी, टेबुल र सोफा राखिएका छन् । त्यस्तै, प्रदेश सभामा दुई सदस्य रहेको राष्ट्रिय जनता पार्टीको संसदीय दलमा राखिएका टेबुल कुर्सी पनि युएनडिपीले नै सहयोग गरेको संसद् सचिवालयले जनाएको छ । संसद् सहयोग परियोजनाअन्तर्गत युएनडिपीले १० लाख मूल्यका टेबुल कुर्सीहरू सचिवालयलाई सहयोग गरेको सचिव धामीले बताए ।
साभार नयाँ पत्रिका बाट