धनगढी, २१ कार्तिक/सुदूरपश्चिम प्रदेशको आर्थिक पर्वका रूपमा स्थापित सुदूरपश्चिम महोत्सव आगामी मंसिरको तेस्रो साता मंसिर २२ गते देखि सञ्चालन हुने भएको छ ।कैलाली उद्योग वाणिज्य संघको आयोजनामा २०६३ सालदेखि महोत्सव सञ्चालन हुँदै आएको छ । विगतमा कोरोना महामारीका कारण २ वर्ष महोत्सव हुन सकेको थिएन ।
‘१६औँ संस्करणसम्म आइपुग्दा यो ९महोत्सव० सुदूरपश्चिम प्रदेशको प्रमुख आर्थिक पर्वका रूपमा स्थापित भइसकेको छ,’ महोत्सवबारे जानकारी दिन आज सोमबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष पुष्पराज कुँवरले भने, ‘यसपटक हामीले महोत्सवमार्फत सरकारलाई धनगढीमा प्रदर्शनीस्थल निर्माणका लागि दबाब दिने लक्ष्य राखेका छौँ ।’
२०६३ सालमा सुदूरपश्चिम प्रदेशको विकासका प्रमुख २१ विषयलाई सरकारसामु मागका रूपमा प्रस्तुत गर्दै सुदूरपश्चिम महोत्सव सञ्चालन भएको थियो । संघका अध्यक्ष कुँवरले भने, ‘निजी क्षेत्रले उठाएका धेरै माग सरकारले पूरा गरेको छ । केही पूरा हुने क्रममा छन् । यसपटक हामीले प्रदर्शनीस्थल निर्माणलाई मुख्य मागका रूपमा अघि सारेका छौँ ।’संघका वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझाका अनुसार यस पटकको महोत्सवमा ह्यांगर स्टल राख्ने तयारी भएको छ । उनले भने, ‘महोत्सवलाई आधुनिक र अझ बढी आकर्षक बनाउन यसपटक ह्यांगर स्टल राख्ने तयारी गरेका छौँ ।’
संघका अनुसार कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिक्स, होटल र सूचना प्रविधिसहित ५ सयभन्दा बढी स्टल राख्ने तयारी भएको छ । महोत्सवको आयोजनाका लागि मूल आयोजक समिति तथा २६ वटा उपसमिति गठन गरिएका छन् ।महोत्सव आयोजनामा २ करोड रूपैयाँ खर्च हुने र १० करोड रूपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ । ९ दिनसम्म सञ्चालन हुने महोत्सवमा ५ लाख जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
धनगढीमा क्यान इन्फोटेक, होटल, अटोमोबाइल्स, ट्राभल मार्ट, हार्डवेयरलगायत छुट्टाछुट्टै महोत्सव, मेला आयोजना हुँदै आएकामा यसपटक सुदूरपश्चिम महोत्सवसँग सहकार्य गरेर एउटै थलोमा महोत्सव आयोजनाको प्रयास भइरहेको संघका अध्यक्ष कुँवरले बताए ।उनले विगत २ वर्ष कोरोना महामारीका कारण व्यवसायीहरू थला परेको र अहिले धनगढीको मुख्य बजार क्षेत्रमा सडक फराकिलो पार्ने क्रममा १ हजारभन्दा बढी व्यवसायी विस्थापित भएको अवस्थालाई दृष्टिगत गरी महोत्सवमा व्यवसायीहरूलाई विशेष सहुलियतका साथ स्टलको व्यवस्था गरिने बताए ।
महोत्सवमा महिला उद्यमी तथा स्थानीय उत्पादनलाई विशेष ग्राह्यता दिइने तथा स्थानीय कलाकार, गायकगायिका तथा संस्कृतिकर्मीहरूलाई प्राथमिकता दिइने पनि उनले बताए ।