काठमाडौं, १४ कात्तिक । नेकपा (माओवादी केन्द्र)ले आगामी पाँच वर्षभित्र २० लाख युवालाई रोजगारी दिने प्रतिबद्धता जनाएको छ । सोमबार सार्वजनिक गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्रमा श्रम क्षेत्रका समस्याहरूको प्याकेजमा सम्बोधन गर्ने उल्लेख छ ।
“आगामी पाँच वर्षभित्र २० लाख युवाहरूलाई छोटो माध्यमबाट रोजगार र स्वरोजगार बनाउने गरी राष्ट्रिय रोजगार प्राधिकरणले स्थानीय तहमा रहेको जनसङ्ख्याको आधारमा ५०० देखि १००० जनासम्म युवालाई अभिमुखीकरण तालिम, बिउ, पुँजी, सहुलियतपूर्ण कर्जा र प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यसका साथै प्राधिकरणले श्रम क्षेत्रका सम्पूर्ण समस्याहरूको प्याकेजमा सम्बोधन गर्नेछ,” घोषणापत्रमा उल्लेख छ ।
रोजगारी र उद्यमशीलता विकासमा महिलालाई प्राथमिकता दिइने पनि बताइएको छ ।महिलाहरूले सामूहिक प्रणालीमा सञ्चालन गर्ने उद्यमको लागि अनुदान तथा कर्जामा थप सहुलियतको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।
वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई नेपाल फर्केपछि रोजगारी–स्वरोजगारी सुनिश्चित गर्न राष्ट्रिय रोजगार प्राधिकरणले अनलाइनमार्फत परामर्श दिई उद्यम–व्यवसायको परियोजना प्रस्ताव तयार गर्न सहयोग गर्ने, वैदेशिक रोजगारीमा जानेहरूलाई एकद्वार प्रणालीबाट सहजरूपमा सेवा प्रवाहको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ ।