काठमाडौँ, ३ कात्तिक । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ बुधबारसम्म १ करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ।छापिएका मध्ये प्रतिनिधि सभातर्फको मतपत्र ५० लाख १३ हजार र प्रदेश सभातर्फको मतपत्र ५० लाख २४ हजार रहेका छन्।
योसँगै प्रतिनिधि सभातर्फ सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेलधुरा जिल्लाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको छ।
प्रदेश सभाका लागि पनि सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सुर्खेत, बाजुरा, बझाङ, दार्चुला, बैतडी र अछाम जिल्लाको मतपत्र छपाइ सम्पन्न भएको छ।
आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छसमानुपातिक निर्वाचन प्रणालीतर्फ भोलि (बिहीबार)देखि दोस्रो चरणको मतपत्र ढुवानी शुरु हुनेछ। पहिलो चरण अन्तर्गत प्रदेश नं. १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ।
समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ।यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ।