काठमाडौं, २२ असोज । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीमा नरहने घोषणा गरेका छन् । उनले शनिबार फेसबुक स्टाटस लेख्दै एमाले अध्यक्ष केपी ओलीसँगै रहेर आन्दोलन र आफैँप्रति इमान्दार रहन नसक्ने भन्दै पार्टीमा नरहने घोषणा गरेका हुन् ।
“म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,” उनले लेखेका छन् ।
उनले एमाले अहिले ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुुगेको समेत बताएका छन् । उनले आफूले पार्टी त्यागे पनि राष्ट्रको हितका लागि सक्रिय रहने समेत बताएका छन् ।
“अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनःस्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ ,” भुसालले लेखेका छन्, “तर, नेकपा एमालेभित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ ।
राष्ट्रको सर्वोपरि हितका लागि म उत्तिकै सक्रिय रहने छु । कमरेडहरु १ सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौँ ।”