काठमाडौं, १८ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ बाट चुनाव लड्ने लगभग निश्चित भएको छ । प्रचण्डकै निर्वाचन क्षेत्रका चितवन–३ का नेतासमेत रहेका वाईसीएलका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले प्रचण्ड चितवनबाट चुनाव नलड्ने सार्वजनिक गरेका छन् ।
पनेरुले फेसबुकमा लामो स्टाटस लेख्दै देशभित्र र बाहिरका परिवर्तनविरोधीका हजार षड्यन्त्रका कारण क्रान्तिकारी नेतृत्व अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना भएको बताएका छन् ।उनले चितवन र ३ नम्बर क्षेत्रको विकासको विशाल सम्भावनामाथि गम्भीर संकट आएको भन्दै यसको असर गठबन्धन र चितवनका तीनवटै निर्वाचन क्षेत्रमा पर्ने चेतावनीसमेत दिएका छन् ।
चितवन–३ मा कांग्रेसको भुइँकटहर समूहले प्रचण्डविरुद्ध उम्मेदवारी दिने तय भइसकेको छ भने एमाले र राप्रपाका विक्रम पाण्डेबीच पनि सहकार्यको तयारी छ । सोही क्षेत्रमा रवि लामिछानेसमेत उम्मेदवार बन्ने चर्चा चलिरहेका बेला वााईसीएलका नेताले प्रचण्ड चितवन छाडेर अन्यत्र जान लागेको पुष्टि गरेका छन् ।चितवनमा चुनाव लड्नु प्रचण्डका लागि जोखिम हुने भन्दै यसअघि नै गोरखामा लैजाने पहल भइरहेको थियो ।