धनगढी, १० असोज/सुदूरपश्चिम प्रदेश सभामाका प्रदेश सदस्यहरुले सरकारबाट पाएको सुबिधा अझै फिर्ता गरेका छैनन् । प्रदेश सदस्यले ल्यापटप र बिषयगत सभापतिहरुले गाडी समेत भएका थिए । सभामुख, उपसभामुखसहित ११ सांसदले गाडी सुविधा पाएका थिए । त्यसमध्ये एमाले प्रमुख सचेतक लीलाधर भट्टले मात्रै फिर्ता गरेका छन् ।
सभामुख र उपसभामुखको कार्यकाल भने बाँकी नै छ । त्यस्तै, ५२ सांसदले ल्यापटप सुविधा पाएकामा ६ जनाले मात्रै फिर्ता गरेको प्रदेश सभा सचिवालयले जनाएको छ । ल्यापटप फिर्ता गर्नेमा भट्टसहित वीरमान चौधरी, महेशदत्त जोशी, हर्कबहादुर कुँवर, कृष्णराज सुवेदी र सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा रहेको संसद् सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए ।
प्रदेश सभाका अधिकांश पदाधिकारीले पनि गाडीलगायतका सुविधा फिर्ता गरेका छैनन् । आफूहरूको कार्यकाल प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने वेलासम्म कायम रहने उनीहरूको दाबी छ । संघ र प्रदेशका सभामुख–उपसभामुखसँगै आफूहरूको कार्यकाल सकिने जिकिर उनीहरूले गरेका छन् । । निर्वाचन आयोगले १ असोजमै कार्यकाल सकिएको बताएलगत्तै केहीले भने सुविधाका गाडी फिर्ता गरेर नैतिकता देखाएका छन् । भने अधिंशले आफै संग राखेका छन् ।
सुदूरपश्चिम प्रदेश सभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिका सभापति कुमारीनन्दा बम, अर्थ विकास तथा प्राकृतिक स्रोत साधन समितिका सभापति हर्कबहादुर कुँवर, सामाजिक विकास समितिका सभापति कुन्ती जोशी र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले पनि गाडी फिर्ता नगरेका सचिवालयले जनाएको छ ।
त्यस्तै, प्रमुख प्रतिपक्षी एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाह, माओवादी संसदीय दलका प्रमुख सचेतक अक्कलबहादुर रावल, कांग्रेस प्रमुख सचेतक अम्बिकुमारी थापा र एकीकृत समाजवादीका प्रमुख सचेतक दुर्गाकुमारी कामीले पनि गाडी फिर्ता गरेका छैनन् । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सभा सदस्यको कार्यकाल कहिलेसम्म मान्ने भन्ने यकिन नभएकाले सुविधा फिर्ता माग्न नसकिएको बताए ।
‘संविधानले प्रदेशको कार्यकाल पाँच वर्ष भनेको छ । पाँच वर्ष नपुगेकाले कहिलेसम्म मान्ने भन्ने कानुनी अन्योल छ,’ उनले भने, ‘कार्यकाल सकियो भनेर खबर आएको छैन, न कतै निर्णय भएको छ । सचिवालयले सुविधा फिर्ता माग्न कि पदावधि सकियो भन्ने खबर आउनुर्पयो, कि पाँच वर्ष पूरा हुनुर्पयो ।’