धनगढी, ५ असोज/नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमिति सभापति वीरबहादुर बलायर कैलाली–४ बाट निर्वाचन लड्ने भएका छन्।उनी गृहजिल्ला डोटी छाडेर कैलाली–४ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन लड्न लागेका हुन्।
प्रदेश सभापति बलायर कैलाली–४ बाट निर्वाचन लड्ने तयार भएका बालुवाटारनिकट स्रोतले पुष्टि गरेको छ। स्रोतका अनुसार उनलाई बालुवाटारले कैलाली–४ बाट निर्वाचन लड्ने तयारी गर्नसमेत भनिसकेको छ। यसअघि बलायर डोटीबाट निर्वाचन लड्न इच्छुक थिए।
तर, सत्ता गठबन्धन नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले पनि डोटीबाटै लड्ने आकांक्षा राखेपछि उनलाई कैलाली–४ ल्याउने तयारी गरिएको स्रोतको भनाइ छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा आले डोटीबाट विजयी भएका थिए।
