काठमाडौं, ५ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर गम्भीर संवैधानिक संकट निम्त्याएको बताएका छन् । बुधवार युवा संघको कार्यक्रममा उनले संसद्ले दुईपटक पारित गरेर पठाएको विधेयक अस्वीकार गर्नु गलत भएको बताए ।
“संसद्ले ठिक ठानेर फेरि पठाइसकेपछि राष्ट्रपतिले स्वीकार गर्नैपर्थ्यो । हिजो १५ दिनको समय बित्दा उनले स्वीकार गरिनन्,” उनले भने, “यसले गम्भीर संवैधानिक संकट निम्त्याएको छ । हामीलाई गम्भीर बनाएको छ, एकपटक संविधानको पालना नगर्ने राष्ट्रपतिले अरू पनि असंवैधानिक कदम चालेपछि के गर्ने ?”
उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपति भन्ने कुरा दिमागबाट हटाउन आग्रह गरेका छन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपति ठिक छ भन्ने कुरा दिमागबाट हटाइदिनुस् । मैले लामो अनुभवको आधारमा भनिरहेको छु,” उनले भने ।
उनले नेकपा (माओवादी केन्द्र)लाई निर्वाचन प्रणाली र शासकीय प्रणालीको बारेमा उसको धारणा गतल भएको समेत आफूले भनिसकेको पनि बताए ।