धनगढी, २५ भदौ । नेपाल प्रेस युनियनको केन्द्रीय समिति बैठकमा सहभागि हुन गएकै कारण केन्द्रीय समिति सदस्य समेत रहेकी एक पत्रकार जागिरबाट निकालिएकी छन् ।
टिभी टुडे टेलिभिजनमा कार्यरत रहेकी प्रेस युनियनकी केन्द्रीय सदस्य शीतल स्नेही जागिरबाट निष्काशनमा परेकी हुन् । साउन ६ र ७ गते हेटौंडामा सम्पन्न नवौं महाधिवेशनमा स्नेही केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
सो महाधिवेशनपछि केन्द्रीय समितिको दोस्रो बैठक भदौ २३ र २४ गते जनकपुरधाममा सम्पन्न भएको थियो । सोही बैठकमा सहभागि हुन गएकै कारण स्नेहीलाई टेलिभिजन व्यवस्थापनले कामबाट हटाएको छ ।
बैठकपछि आज अफिस जाँदा अब काममा नआउन भनेको पत्रकार स्नेहीले बताएकी छन् । ‘आज अफिस गएर काम गर्न खोज्दा अबदेखि काममा नआउन भन्ने उर्दी जारी भयो । त्यसपछि कामै नगरी फर्किएँ,’ उनले भनिन् ।
बैठकमा जानुअघि नै आफूलाई अवरोध गर्न खोजिएको उनी बताउँछिन् । ‘बैठकमा जानलाई बिदा माग्दा नाइनास्ती गरिएको थियो । मैले दुःख गरेर जितेकोले बैठकमा जाने निर्णय गरेँ । बरु तलब काट्न भनेकी थिएँ,’ उनले भनिन्,‘फर्किएपछि कामबाटै निकालियो ।’
श्रमजिवी पत्रकारहरुको हकहित संरक्षण र पेशागत सुरक्षाका लागि स्थापित नेपाल प्रेस युनियनको बैठकमा जाँदा पत्रकार जागिरबाट निकालिनु अत्यन्त दुःखद र निन्दनीय घटना भएको प्रेस युनियनका केन्द्रीय सदस्य पुष्पराज जोशीले बताए । उनले भने,‘टिभी टुडेले एकदमै दुःखद र निन्दनीय काम गरेको छ । यसविषयमा युनियनले कठोर कदम चाल्छ ।’