धनगढी, १८ साउन/कैलालीको गौरीगंगा नगरपालिका–८, लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । विद्यालयमा कार्यालय सहयोगी राख्ने नाममा प्रधानाध्यापकले ३० हजार रुपैयाँ घुस लिएको समाचार सुदूरपत्र अनलाईनले समाचार प्रकाशन गरेपछि स्थानीय आन्दोलित भएका छन् । उनीहरुले बिद्यालयमा तालाबन्दी समेत गरेका छन् ।
एक स्थानीयले भने,‘हामीले विद्यालयमा गएर व्यवस्थापन समिति र प्रधानाध्यापकसँग बाहिरिएको समाचारका बारेमा सोधपुछ गर्दा उनीहरुले चित्तबुझ्दो जवाफ नदिएपछि हामीले बाध्य भएर तालाबन्दी गर्नु परेको हो ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर चौधरीले साउन १७ गते बसेको बैठकले प्रधानाध्यापकसँग सोधपुछ गरेको बताए । उनले भने,‘हामी प्रधानाध्यापक धनीदत्त भट्टलाई हटाउन खोजेका थियौं । तर, केही युवाहरु आएर होहल्ला गर्दा बैठक पूर्ण हुन सकेन ।’ त्यसपछि स्थानीयले विद्यालयको प्रशासनिक कक्षमा तालाबन्दी गरिदिएको उनले बताए ।
‘विद्यालयको प्रशासनिक कक्षमा तालाबन्दी गरिएको छ,’उनले भने,‘अब तुरुन्तै भोलि नै बैठक बसाएर समस्याको समाधान खोजिनेछ । हामी त्यस्तो गलत गर्ने प्रधानाध्यापकलाई हटाउने छौँ ।’ आफूलाई पनि कार्यालय सहयोगीका दाजुले पटक पटक प्रधानाध्यापक भट्टले पैसा मागिरहेको र त्यो पैसा नदिन भनेको बताउँदै अध्यक्ष चौधरीले भने,‘मलाई कार्यालय सहयोगीका दाजु आएर प्रअले पैसा मागेका छन् दिउँ कि नाई भनेकै हुन्, मैले नदिनु भनेको थिएँ, त्यो बेला नै प्रअलाई बोलाएर सोधिनु पथ्र्यो त्यो सोधिएन । यस्तो होला भन्ने थाहै भएन ।’
विद्यालय व्यवस्थापन समितिको गत जेठ २४ गतेको निर्णयअनुसार विद्यालयका आन्तरिक स्रोतबाट तलबभत्ता पाउने गरी जेठ २४ गतेकै दिन दरखास्त आह्वान गरिएको सूचनामा लिक्मा गाउँका कृष्ण चौधरीले आवेदन दिएका थिए । दरखास्त आह्वानमा कृष्णबाहेक अन्यको आवेदन परेको थिएन । आफू उपचारका लागि काठमाडौं गएकाबेला प्रअ धनिदत्तले मसुरिया साझा बजारको अनुप पुस्तक पसललाई आफ्नो एक जना मानिसको हातमा ३० हजार रुपैयाँ पठाइदिन आग्रह गरे । पुस्तक पसलेलाई उध्रित गर्दै स्रोतले भन्यो–‘कार्यालय सहयोगी कृष्ण चौधरीले तपाईलाई आएर ३० हजार रुपैयाँ दिन्छ, अहिल्यै तुरुन्तै मलाई तपाई पैसा पठाइदिनुस् ।’ तर, त्यही बेला पुस्तक पसलेले आफूसँग पैसा नभएकाले छिमेकी पसलेलाई पैसा दिइदिन आग्रह गरे । उनीसँग पनि नगद नभएका कारण मोबाइल बैंकिङमार्फत् प्रअले भनेको ‘गौतम’ व्यक्तिको बैंक खातामा ३० हजार रुपैयाँ पठाएका थिए ।
कार्यालय सहयोगीले साउन १४ गतेका दिन उक्त पुस्तक पसलमा गई नगदी रसिद कटाएर ३० हजार रुपैयाँ बुझाए । पैसा बुझाएको रसिद बाहिरिएसँगै अहिले जनप्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिदत्त भट्ट विवादमा तानिएका छन् ।