काठमाडौँ, ३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच मंगलबार एक घण्टा भन्दा बढी छलफल भएको छ।
पार्टी अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि नयाँ पार्टी गठनको तयारीमा रहेकै बेला डा.भट्टराईले प्रचण्डसँग छलफल गरेका हुन्।सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा जनयुद्धकालीन दुई सहकर्मीबीच एक घण्टा छलफल भएको हो।
पछिल्ला दिन जसपा पुनर्गठन अभियानमा लागेका बाबुरामले समाजवादी केन्द्र बनाउने प्रस्ताव अघि सारेका छन्।भट्टराईलाई माओवादी पार्टीभित्र ल्याउनुपर्ने एकथरी नेताहरुले प्रस्ताव पनि गरेका छन्।
स्रोतका अनुसार डा. भट्टराई माओवादी केन्द्रमै मिसिन तयार छैनन्, उनले नाम परिवर्तन भए सोच्न सकिने बताएका छन्।
भट्टराईको कुरामा प्रचण्ड पनि सकारात्मक रहेको बताइएको थियो।यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा दुई चरण प्रचण्ड र भट्टराईबीच छलफल भएको थियो।
त्यस बेलाको छलफल पनि सकारात्मक रहेको बताइएको थियो।
आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा पाँच दलीय गठबन्धन बन्ने निश्चित भएकै बेला बाबुरामको अवस्था के हुनेरु यही विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन्।